पुष २ ,लण्डन – बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाउन पाएका छन् । पहिलो खोप लगाएको एक हप्ताको अवधिमा यति मानिसले खोप लगाएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका हुन् ।
बेलायतमा अघिल्लो हप्ताको मंगलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । औपचारिक रूपममा कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै सुरु भएको हो । बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका संक्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो ।
स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इग्ल्याण्डका मात्रै रहेका छन् ।
कोरोना भाइरसबाट संक्रमित भएर बेलायतमा अहिलेसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने कूल झण्डै १९ लाख मानिस संक्रमित भएका छन् । विश्वभरी अहिलेसम्म सात करोड ३९ लाख ६७ हजारभन्दा बढी संक्रमित हुँदा १६ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।