पुस २, काठमाडौँ – दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।
समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स खरिद गर्न चितवनसहित स्वदेश र विदेशमा रहेका दूधपोखरी घर भएकाले सहयोग गरेको उनले जानकारी दिए । एम्बुलेन्स सञ्चालनका लागि दूधपोखरी गाउँपालिका–२ ले संयोजन गर्ने गरी सञ्चालक समिति बनाएर व्यवस्थापन गरिने छ ।
दूधपोखरी जिल्लाको सदरमुकाम बेँशीशहरबाट ५० किलोमिटर पूर्वमा पर्दछ । यहाँबाट बिरामी उपचारका लागि चितवन, काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । गोरखाको सीमा क्षेत्रमा पर्ने दूधपोखरी गाउँपालिकामा ११ हजार जनसङ्ख्या रहेको छ । एम्बुलेन्सले छिमेकी गाउँपालिकाको जनतालाई पनि सेवा पुर्याउने न्यौपानेले बताए ।