काठमाडौ १ पुस – कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ । टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुईवटा महिला समूह पनि सधैँ तयारीको अवस्थामा रहेका हुन्छन् ।
निर्देशन पाएको छोटो समयमै शुक्रबार महिला टोलीबाट दोस्रोपटक एकै दिन टेकु, छावनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नोबेल अस्पतालबाट चार शवको व्यवस्थापन भयो । एक टोलीमा हुद्दा कृष्णकुमारी, प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा छन् भने अर्काेमा प्यूठ रचना र रश्मी तथा सिपाही लीला ।
शव निकाल्नुअघि टोलीले शव राखिएको स्टे«चर र वरिपरिका सामानसमेत विसङ्क्रमण (डिसइन्फेक्ट) गरे । शवको बाहिरी तहमा विसङ्क्रमण गरेर अस्पतालबाट निकाली मृत शरीरलाई शव वाहनमा राखे । आवश्यक सुरक्षा सावधानीका साथ टोलीले शवलाई पशुपति आर्यघाटमा पु¥याए । आफन्त इष्टमित्रले हेर्न, छाम्न र श्रद्धासुमन दिन नपाएको शवलाई उहाँहरूले सलामी दिन छुटाउनुहुन्न । पुष्पहार अर्पण गर्न चाहनेलाई स्वास्थ्य मापदण्ड पालना गराउँदै सुरक्षित स्थानबाट त्यो अवसर दिने गरिएको छ । नत्र सेना आफैँले परिवारको तर्फबाट फूल चढाइदिन्छ । सलामी अर्पण गरेपछि शवको दाहसंस्कार हुन्छ ।
गोरखकाली गुल्मकी सहायक गुल्मपति सहसेनानी रोशनी कार्कीका अनुसार यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको धार्मिक परम्पराअनुसार नै गराउने गरिएको छ ।
कोभिड १९ सङ्क्रमणको शुरुआती चरणमा मानिसहरु सङ्क्रमितको घर वरपर जानै डराउँथे । गाउँ वरपर व्यवस्थापन गर्न अबरोध हुन्थ्यो । सरकारले जिम्मेवारी दिएपछि नेपाली सेना शुरुआती चरणदेखि नै चुनौतीको सामना गर्दै शव व्यवस्थापनमा दिनरात खटिँदै आएको छ ।
सेनाकी हुद्दा कृष्णकुमारीको केही समय अघिको दैनिकी भने कार्यालय घेरामै सीमित थियो । जब कोभिड¬१९ को सङ्क्रमणले चर्को रुप लिँदै गयो, उनलाई कार्यालय घेराबाट बाहिर निस्केर काम गर्नुपर्ने अवस्था आयो । इच्छा जागेर उनी कोरोना सङ्क्रमणबाट प्राण त्यागेकाहरूको शव व्यवस्थापनमा खट्दै आउनुभएको छ । उहाँका लागि त्यो राज्यप्रति वहन गर्नुपर्ने राष्ट्रसेवकको आकस्मिक दायित्व थियो । त्यो ठूलो अवसर हो तर परिस्थिति सहज थिएन ।
राष्ट्रको सुरक्षा गर्ने वाचा पूरा गर्नकै लागि कृष्णकुमारीले आममानिसले छुन नमिल्ने सङ्क्रमितको शव काँधमा बोक्न हिच्किचाइनन। कहिल्यै ननिम्तिएको सङ्क्रमणको महामारी र अनि उपचारसमेत फेला नपरेको रोगबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्नु चानचुने कुरा होइन । सावधानी नअपनाउँदा आफैँ सङ्क्रमणको शिकार हुने जोखिम उत्तिकै छ ।
शव व्यवस्थापन गरिसकेपछि सिधै घर वा कार्यालय जान पाइँदैन । तत्काल शरीरलाई नै डिसइन्फेक्ट गर्नु पर्ने उनी बताउछिन । शव व्यवस्थापन गरेपछि त्यसका लागि लगाएका व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सेट विसंक्रमण (डिसइन्फेक्सन) का लागि छुट्टै भाँडोमा राखेर आवश्यक स्वास्थ्य सुरक्षा सावधानीका साथ क्वारेन्टिनमा जानुपर्छ । त्यसपछि अर्काे टोलीको शव व्यवस्थापनको पालो आउँछ । घर नगई महिला टोलीले शव व्यवस्थापनको काम गरिरहेको छ ।
दुबै समूहमा बसेर शव व्यवस्थापनमा खटिरहनुभएकी कृष्णकुमारी त्यस कार्यमा निक्कै अनुभवी छन् । यसअघिको पहिलो समूहमा कृष्णकुमारीसहित प्यूठ रचना तथा रश्मी र सिपाही लीला सहभागी हुनुभएको थियो । त्यो बेला ओम र शिक्षण अस्पताललगायतबाट छवटा शव व्यवस्थापन गरिएको थियो । दोस्रो पटक कृष्णकुमारीसहित प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा सहभागी भए । दुई टोलीले अहिलेसम्म १० शव व्यवस्थापन गरिसकेको छ । आफ्नो अनुभव सुनाउँदै कृष्णकुमारी भन्छिन् ‘महिला सैनिक भएर सङ्कटपूर्ण अवस्थामा राज्यले दिएको जिम्मेवारी पूरा गर्न पाउँदा गौरव लागेको छ ।’
उपत्यका पृतनाको कोभिड डेस्कबाट खबर कतिबेला आउँछ थाहा हुन्न । जति नै बेला पनि पिपिइ सेट, जुत्ता, पञ्जा, गाउन, चश्मालगायत आवश्यक स्वास्थ्य मापदण्ड पु¥याई टोली तम्तयार हालतमा बस्नुपर्छ । खबर आउने बित्तिक्कै शव बाहनसहित दौड्नुपर्छ । कृष्णकुमारी थप्छिन् – “काम सजिलो छैन, हामीले तालीममा जे सिक्यौँ, त्यही व्यवहारमा उतारेका छौँ । मिसन सफल छ, कुनै अलमल छैन ।”
गोरखकाली गुल्म नेपाली सेनाको पहिलो महिला गुल्म हो । यहाँ १७८ महिला सैनिक छन् । गुल्मका उपसेनानी सीताको नेतृत्वमा टोली परिचालन हुन्छन् । महिला मलामी जानुहुन्न भन्ने परम्परागत मान्यतालाई चिर्दै सङ्कटको घडीमा मानवीय कार्यमा महिला सैनिक स्वेच्छाले खटेको सहायक गुल्मपति कार्की सुनाउछिन् ।
उपत्यका पृतनाले दुई हप्ते तालीम दिएपछि समूह बाँधेर यसरी महिला सैनिकहरुलाई खटाएको हो । असोज २६ गते महिला टोलीले पहिलो पटक शव उठायो । ओम अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट शव लगेर व्यवस्थापन ग¥यो । शुरुमा नौलो महसुश भयो । यद्यपि जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी नराखेको महिला टोलीको भनाइ छ ।
शव उठाउन टोली पालैपालो खटिन्छन् । एक दिन शव व्यवस्थापन भएपछि त्यो टोलीका सबै सदस्य क्वारेन्टाइनमा बस्छन् । मापदण्ड पूरा गरी रिपोर्ट नेगेटिभ आएपछि पुनः परिचालित हुन्छन् । टोली उपत्यका पृतनामा रहेको कोभिड डेस्कको निर्देशनमा परिचालन गरिन्छ । प्लाष्टिकसहित तीन तहमा ढाकेर राखिएका शवलाई मुचुल्का गरी उठाएर बाहनमा राख्ने र समाधिस्थलमा पु¥याएर सद्गत गर्नेसम्मको जिम्मेवारी सेनाको जिम्मामा छ ।
मुलुकभर गरेर नेपाली सेनाले झण्डै तीन हजार व्यक्तिको शव व्यवस्थापन गरिसकेको छ । सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्छन् ‘राष्ट्रलाई आइपरेको सङ्कटको अवस्थामा हामीले आफ्नो दायित्व निर्वाह गरेका हौँ । सेनाले जोखिमका बीच काम गरिरहेको छ ।’आफन्तहरुलाई मृतकको अनुहार हेर्न दिइएन भन्ने गुनासोबारे सैनिक प्रवक्ता पौडेल भने ‘प्लाष्टिकसहित तीन तहमा शवलाई बाँधेर राखिएको हुन्छ । सेनाले शव खोल्ने पनि होइन, बाँध्ने पनि होइन, मात्र व्यवस्थापन गर्ने हो । ’शव खोल्ने दक्ष जनशक्ति पनि सेनामा नभएकाले अस्पतालमै आवश्यक समन्वय गर्न सम्बन्धित परिवारसँग उहाँले अनुरोध गर्नुभयो । घरमा पृथक्वास (आइसोलेसन) मा रहेका बेला मृत्यु भएकाको हकमा भने त्यो समस्या छैन ।
कतिपय अवस्थामा अस्पतालमा शुल्क भुक्तानी गर्नमा र मृत व्यक्तिका आफन्त उपस्थित हुनमा ढिलाइ हुँदा शव उठाउन समस्या हुने गरेको छ । कुनै दिन एकै पटक धेरै शव उठाउनु पर्दा व्यवस्थापनमा केही ढिलाइ हुने गरेको भए पनि आवश्यक समन्वयमा काम गर्ने गरिएको सेनाले जनाएको छ ।नेपाली सेनाले देशभर गरेर झण्डै तीन हजार तालीमप्राप्त जनशक्ति शव व्यवस्थापनमा खटाउँदै आएको छ । प्रत्येक जिल्लामा दुई या त्यो भन्दा माथिको समूह तयार गरेर राखिएको छ ।
मन्त्रिपरिषद्को निर्णयबाट सेनालाई उक्त जिम्मेवारी दिइएको हो । सरकारले जारी गरेका दुई निर्देशिका पालना गर्दै कोभिड¬१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा नेपाली सेनाले काम गर्दै आएको छ ।
रासस