अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको छ – अर्थ मन्त्रालय

पुष १, काठमाडौं  -पछिल्लो समय बजार चलायमान भएका कारण नेपालको अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको अर्थ मन्त्रालयले विश्लेषण गरेको छ ।  मन्त्रालयले चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो चौमासिक अवधि (साउन देखि कात्तिक)को समीक्षा विवरण सार्वजनिक गर्दै यस्तो विश्लेषण गरेको हो ।

मन्त्रालयका अनुसार चालु आवको प्रथम चौमासिक अवधिमा चालु खाता, भुक्तानी सन्तुलन तथा व्यापार सन्तुलन र विदेशी विनिमय संचितिमा क्रमिकरुपले सुधार भई बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको तर महामारीको जोखिमका कारण पैठारीमा संकुचन आएकाले आर्थिक क्रियाकलापको विस्तारमा भने केही चुनौती देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यस्तै, निकासीमा भएको वृद्धिले १.५ प्रतिशतले व्यापारघाटा पनि सुधार भएको मन्त्रालयको देखाएको छ । पहिलो चौमासिक अवधिमा निकासी र पैठारीको अंश क्रमशः ९.०८ प्रतिशत र ९१.९२ प्रतिशत पुगेको छ । महामारीका कारण चालु आवको शुरुवाती महिनामा विकास निर्माणका काम पूर्णरुपमा संचालन हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ । जसले गर्दा ती महिनामा पूँजीगत खर्च उल्लेख्य बढ्न सकेको थिएन । पछिल्ला दिनमा भने पूँजीगत खर्चले गति लिएकाले चार महिनामा पूँजीगत खर्च कुल लक्ष्यको ८.३४ प्रतिशत भएको दावी मन्त्रालयले गरेको छ ।

पहिलो चौमासिक अवधिमा कुल संघीय खर्च लक्ष्यको तुलनामा १९.१ प्रतिशत बढी भएको छ । यसमा चालु खर्चको हिस्सा ठूलो छ । कात्तिकसम्म २ खर्ब ३० अर्ब रुपैयाँ चालु खर्च भएको छ । पूँजीगत खर्च भने मात्र २९ अर्ब ४४ करोड रहेको छ । चार महिनामा राजस्व संकलनतर्फ भने ९४ प्रतिशत प्रगति भएको छ । आयकरमा २.७ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

भन्सार राजस्वको संकलन समेत २.२ प्रतिशत बढी उठेको छ । प्रथम चौमासिकमा वैदेशिक सहायताको प्रतिवद्धता ९० अर्ब ५५ करोड पुगेको छ । वित्तीय पहुँचमा विस्तार भएको उल्लेख गर्दै मन्त्रालयले नेप्से सूचकांकमा देखिएको निरन्तरको सुधारले पूँजीबजार थप सबलिकृत भएको बताएको छ । यसले अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको अर्थ मन्त्रालयको दावी छ ।