रामदेवि भन्छिन– ‘मेरो साथी नै रेडियो, गिट्टी र हथौडा ।’

मंसिर २८, सुर्खेत–वीरेन्द्रनगर–१२ की हरिकला नेपालीले गिट्टी कुट्न थालेको दुई दशक भयो । उनले गिट्टी कुटैर पाँच जनाको परिवार पाल्दै आएकी छन् । ५२ वर्षीया हरिकलालाई गिट्टी कुट्दा दुःख हुने गरेको भएपनि यो बाध्यता रहेको बताउँछिन् । उनले भनिन्,‘दिनभर गिट्टी कुट्छु । साँझ विहान हातमुख जोर्ने माध्यम नै यही हो । २० वर्ष जति भइसक्यो गिट्टी कुट्न थालेको । खै कहिले सम्म हुने हो ।’

छोराछोरी रोजगारीमा छैनन् । अरु आम्दानीको स्रोत केही पनि छैन । साँझ विहानको छाक टार्नको लागि गिट्टी कुट्ने गरेकी छु । परिवारको आम्दानीको स्रोत भनेकै गिट्टी कुट्ने नै हो । उसो त उनी पहिले देखि नै गिट्टी कुटेरै जिविकोपार्जन गर्छिन् । उनका श्रीमान लामो समय देखि वेपत्ता छन् । श्रीमान बेपत्ता भएपछि आफूले छोराछोरी पाल्न कै लागि गिट्टी कुटनु परेको उनी सुनाउँछिन् । ‘अहिले सक्दिन। पहिला त राम्रै कमाइ हुन्थ्यो ।अहिले भने सोचे जस्तो कमाइ छैन । तर पनि यसैबाट धेरै जनाको प्राण बचेको छ ।’ उनी भन्छिन् । केही वर्ष पहिला उनको दैनिक आम्दानी १ हजार देखि १५ सय सम्म थियो । तर अहिले भने दैनिक मुस्किलले ५ सय सम्म मात्रै हुन्छ । वर्षेनी बुढिदै गएपनि जाँगर पनि लाग्न छोडेको उनको भनाइ छ । बुढेसकालमा समेत दैनिक काम गर्नु आफ्नो रहर नभएर बाध्यता रहेको उनले जानकारी दिइन् । यस्तै उनीसँगै गिट्टी कुट्छिन्, सोही वडाकी रामदेवि दमाई १२ वर्ष भयो, उनले यहि चौरमा गिट्टी कुट्न थालेको।

गिट्टी कुटेरै आफ्नो जिविकोपार्जन गरिरहेकी छन, यी वृद्धाले। यो उनको आम्दानीको मुख्य स्रोत पनि हो। दैनिक आराम गरेर बस्नुपर्ने उमेरमा पनि ८ घण्टा गिट्टी नकुटे चुल्हो नबन्ने उनी बताउँछिन् । प्रत्येक दिन विहान देखि राति अबेर सम्म गिट्टी कुटेरै दैनिकी बित्ने गरेको उनले बताइन् । ‘कोही छैन घरमा । एक्लै बस्छु । गिट्टी कुट्छु । बेच्छु खान्छु । गिट्टी नकुटे दैनिकी चल्दैन।’ उनले भनिन् । १२ वर्षदेखि उनको जीवन गिट्टी कै सहारामा चलिरहेको छ । कहिले काही विरामी हुँदा गिट्टी कुट्न नसकेको दिन भोकै बस्नु पर्ने अवस्था रहेको उनी बताउँछिन् । ७१ वर्षीया यी वृद्धाका अनुसार बुढेसकालमा कोही पनि आफ्नो हुँदा रहेछन् । मेरो साथी भनेको यो रेडियो, गिट्टी र हतौडा हुन् । हतौडा नभए म भोको हुन्छु । म मरे भने यो रेडियोको कसले संरक्षण गरिदेला । गिट्टी कुट्छु र त यो जिन्दगी चलेको छ ।

पहिले जस्तो काम गर्न सक्दिन । अहिले तँ जाँगर पनि चल्दैन। उनले पहिला ६ बोरा सम्म गिट्टी कुट्ने गरेको भएपनि अहिले भने मुस्किलले तीन वटा सम्म मात्रै कुट्न सक्ने बताइन्। प्रति बोराको एकसय रुपैयाँ दिन्छन । एकदिनको तीन सय रुपैयाँ मात्रै कमाइ हुन्छ। गिट्टी कुटेर महिनामा मस्किलले १० हजार कमाइ हुनेभएपनि काम गरिरहनु उनको रहर होइन बाध्यता हो। उनी भन्छिन्, ‘भोकै मर्न सकिदैन । बाँच्नको लागि गिट्टी कुट्ने गर्छु। मलाई पाल्ने मान्छे भए । किन दुःख गर्थे र ।’
उनका दुई छोरा र दुई छोरी छन् । छोरीहरुले विवाह गरेर गइसके । छोराहरु भने अन्तै बस्छन् । उनीहरुको कुनै पनि साथ र सहयोग नभएको उनले बताइन् । उनका अनुसार छोराछोरी भनेका अर्कैका रहेछन् । श्रीमानले छोडेर गए । विवाह गरेपछि छोरा बुहारीको, छोरी पराइकी । आफ्नो भने जीवन यस्तै हो । महिनाभरि गिट्टी कुट्यो । उदारो खायो। बिक्रि भएपछि मात्रै तिर्ने हो । उनले साउजीले समेत बुढिमान्छे भनेर उदारो पत्याउने गरेको जानकारी दिइन् ।