चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा

मंसिर २८, खोटाङ  – जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो । चिसापानी बजारभन्दा माथि रहेको करिब तीन रोपनी सार्वजनिक जग्गा चार व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको छ । व्यक्तिको नाममा रहेको उक्त जमिनमा विसं २०३८ तिर नै चिसापानी बजारका स्थानीय बासिन्दाका लागि खानेपानीको ट्याङ्की बनाइएको थियो ।

विसं २०४२ मा नापी टोलीमा आएका कर्मचारीसँग मिलेर स्थानीय सुक्रिम राई, प्रेमबहादुर बस्नेत र जग्गा नाप्न गएका दास थरका अमिनले आफ्नो नाममा दर्ता गरेको पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए ।
‘चिसापानी बजार क्षेत्रमा खानेपानीको ट्याङ्कीसमेत निर्माण गरिएको जग्गा कसैलाई जानकारी नै नदिई दर्ता गरेका रहेछन् ’ उनले भने ‘जग्गाधनी हुँ भन्दै सुक्रिम राईको छोरा शिवकुमार राईले स्काभेटर लगाउन आउँदा मात्र सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको रहेछ भन्ने थाहा भयो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

भूमिसम्बन्धी ऐन २०२१ को परिच्छेद ७ को मोहीसम्बन्धी व्यवस्थाको दफा २५ को मोहीको हक प्राप्त हुने अवस्थाको १ अनुसार नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको जनाइएको छ । विसं २०४२ मा आएकोे नापी कार्यालयमा दर्ता गर्न आएका कर्मचारीलाई प्रलोभनमा पारेर मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको गाउँपालिकाको जिकिर छ ।

गाउँपालिका प्रमुख राईले मालपोत ऐन, २०३४ को परिच्छेद ७ को जग्गा आवाद गर्नेसम्बन्धी व्यवस्थाको दफा २४ को उपदफा १ अनुसार निज व्यक्तिहरुले कसुर गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जानकारी दिए ।
मालपोत ऐन, २०३४ को केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ मा व्यवस्था भएअनुसार उक्त जग्गाको विसं २०२१ मा उतारिएको ७ नम्बर फाँटवारीमा नेपाल सरकारको स्वामित्व देखिने भएकाले सो जग्गा व्यक्तिले हडप्न नमिल्ने गाउँपालिका प्रमुख राईको भनाइ छ ।

स्थानीय सर्वसाधारण तथा चिसापानी बजारका बयोवृद्धहरुले समेत सो जग्गा कसैको भोगचलनमा नरहेको सरकारको नाममा खाली बाँझो चौरी रहेको बताएका छन् । उता तत्कालीन समयमा जग्गा आफ्नो नाममा दर्ता गर्नेहरुमध्येका प्रेमबहादुर बस्नेतले भने उक्त जग्गा सोही ठाउँमा बस्ने माथवरसिं राउतलाई बिक्री गरिसकेका छन् । राउतले सो जग्गा सरकारी नै रहेको थाहा भएकाले प्रक्रिया मिलाएर फिर्ता गर्ने बताएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

जग्गाको प्रकृति र पुरानो प्रमाणहरु बुझ्दा सो जग्गा सार्वजनिक नै ठहरिने देखिएको र त्यसबेला जालझेल गरेर व्यक्तिको नाममा दर्ता गरेको बुभिएकाले सो जग्गा फिर्ता गर्न राउत तयार भएका छन् । छ वडा रहेको उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजी गर्ने अभियान शुरु गरेको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजीकार्य शुरु गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहमा रहेका गुठी तथा मठमन्दिरको नाममा रहेको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले आफ्नो नाममा दर्ता गरेको पाइएको छ ।
रासस