मंसिर २५, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण १६ दिनदेखि उनी अस्पतालमा उपचारार्थ थिए ।
विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मनुभएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य बनेका थिए । विसं २०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनी दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन ।