बाँकेका धार्मिक गुरुहरु भन्छन् – ‘बालविवाह हुन दिन्नौ, रोक्न मद्धत गर्छौ’

मंसिर २१, बाँके – बाँकेका धार्मिक गुरुहरुले सामाजिक समस्याका रुपमा रहेको बालविवाह रोक्नको लागि अग्रसर हुने प्रतिबद्धता जनाएका छन् । समाज रुपातन्त्रणमा आफूहरुको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै समाजमा लुकिछिपि गैरकानुनी रुपमा उमेर नुपुगि हुने विवाह रोक्नको लागि भूमिका खेल्ने उनीहरुले बताए । बाँकेको कोहलपुरमा सम्पन्न बालविवाह सम्बन्धि ‘धार्मिक गुरुहरुसँग खुल्ला छलफल’ कार्यक्रममा हिन्दु, इसाई र मुस्लिम धर्मका पुरोहित, मौलाना, पास्टरहरु बडघर, भूइहार गुरुहरु सहभागी थिए । उनीहरुले कानुन अनुसार २० वर्ष नपुगि विवाह गर्न नपाइने व्यवस्था रहेको भन्दै अहिले त्यस्ता विवाहमा आफूहरु सहभागी नहुने पनि बताए ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का ७८ वर्षीय पुरोहित शिव प्रसाद अधिकारीले आफू बालविवाह विरुद्ध कटिबद्ध रहेको बताए । उनका अनुसार बालविवाह गर्नु भनेको देश र कानुनको विपरित काम गर्नु हो । ‘पछिल्लो समय लकडाउनको समयमा धेरै बालविवाह भयो भन्ने सुनिन्छ । विवाहको लागि मसँग पनि धेरै जना आउनु भएको थियो । केही विवाह मैले गरिन । हुन पनि दिइन’ उनले भने । आफूले विवाह गर्दा उनीहरुको सम्पूर्ण विवरण माग्ने गरेको पनि उनले बताए । पछिल्लो समय प्रविधिको बढ्दो दुरुपयोगका कारण बालविवाहको दर बढ्दै गएको भन्दै यसको समाधान तर्फ सबैको ध्यान जानु पर्नेमा उनको जोड रहेको थियो ।

तपाईले आफूले बालविवाह रोक्न प्रयास गर्नु भएको छ की छैन भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘छु नी, किन नहुनु । तीन महिना पहिले हुम्लाका केटाहरु भागेर आएका रहेछन् । मै कहाँ आए । हेर्दा साना साना थिए । उमेर सोधेको त २० वर्ष पुगेका रहेनछन् । सम्झाई बुझाई गरि पठाए । त्यसपछि उनीहरुको विवाह भएन ।’ उनीहरुको परिवार पनि आफ्नो गाउँको टोल मै बस्ने गरेको भन्दै उनले दुवैजना उज्वल भविश्य बनाउन लागि परेको जानकारी दिए । कोहलपुर–९ झण्डवाका ३७ वर्षीय मौलाना अब्दुल वाहिम पनि आफू बालविवाह गर्नु हुन्न भन्ने पक्षमा रहेको बताउँछन् । बाँकेमा मुस्लिम समुदायमा बालविवाहको अवस्था चिन्ताजनक अवस्थामा रहेको भन्दै उक्त समुदायलाई शिक्षित बनाउन आवश्यक रहेको उनले बताए । मौलाना वाहिमका अनुसार मुस्लिम समुदायमा विवाह गर्दा केटा र केटाबाट स्विकृति लिने चलन छ । केटाकेटी दुवै मञ्जुर भए विवाह हुन्छ नत्र हुदैन । ‘हाम्रोमा बालविवाह समस्याका रुपमा रहेको छ । दाइजो पनि हाम्रो प्रमुख समस्या हो । मैले समाजमा जनचेतना फैलाउदै आएछु । मैले पनि धेरै बालविवाह रोक्न भूमिका खेलेको छु । यसको अन्त्यको लागि सबै जना एकजुट हुनुपर्छ ।’ उनले भने । स्थानीय सरकारले हरेकले बालविवाह न्युनिकरणको लागि थालेको अभियानमा आफूहरुको साथ सदैव रहने उनको भनाइ छ । यस्तै इसाई धर्मका पास्टर तथा धार्मिक सञ्जाल बाँकेका सदस्य गंगाराम वलीले आफ्नो धर्ममा सहमति अनुसार नै विवाह गरिने भएकोले बालविवाहको समस्या नै अन्य धर्मको भन्दा बढी नरहेको बताए ।

कहिलेकाँही त्यस्ता समस्याहरु आउने गरेको भन्दै उमेर नपुगि विवाहको लागि स्विकृति नदिने गरेको उनले जानकारी दिए । पास्टर वलीले अहिले समाजमा बालविवाहको अवस्था नाजुक अवस्थामाले जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । त्यसमा धार्मिक गुरुहरुको पूर्ण समर्थन रहेको उनको भनाइ छ । २९ औँ अन्तर्राष्टिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा गरिएको उक्त कार्यक्रममा कोहलपुर नगरपालिका भित्रका विभिन्न समुदायका धार्मिक गुरुहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जुकुमारी चौधरीले कोहलपुर नगरपालिकालाई बालविवाह मुक्त नगर घोषणा गर्नको लागि तयारी भइरहेको बताइन् । उनका अनुसार कोहलपुरमा सबैभन्दा धेरै बालविवाह हुने गरेका वडा नम्बर १, ३, १२ र १३ लगायतका वडामा बालविवाह न्युनिकरणका लागि विभिन्न अभियानहरु सुरु गरिएको छ ।

एक तथ्यांक अनुसार कोहलपुर नगरपालिकामा वर्षेनी ८० प्रतिशत बालविवाह हुने गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा कोहलपुरमा विभिन्न गतिविधि सञ्चालन भइरहेको छ । अभियान नै क्रममा यस अघि किशोरसँग अन्तरक्रिया र अभिभावक शिक्षा कार्यक्रम भइसकेको छ । अभियान मसिंर २५ गतेसम्म चल्नेछ ।