उपत्यकाका भीडभाड नगरी छठ मनाउने तयारी

मंसिर ३, काठमाडौं  – कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ ।

विगत वर्षमा जस्तो व्रतालुलाई राति पोखरी परिसरमा बस्नसमेत नदिइने कमलपोखरी छठ पूजा समाजले जनाएको छ । दश वर्ष अघिदेखि कमलपोखरीमा विशेष साजसज्जाका साथ रङ्गीचङ्गी बनाएर छठ पर्व मनाइन्थ्यो । यस वर्ष भने सजावट र विशेष समारोहको कुनै तयारी भएको छैन ।

व्रतालुले घरमै बसेर सूर्यको आराधना गर्न सक्ने भएकाले भीडभाडमा नजान वडा कार्यालयले आह्वान गरेको छ । पशुपति क्षेत्रको गुह्येश्वरीमा विगत वर्ष जस्तो छठ समारोह नहुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
राजधानीमा नागपोखरी, गहनापोखरी, वाग्मती, विष्णुमती लगायत नदी किनारका विभिन्न स्थानमा छठ पूजा गर्न स्थानीय समिति गठन गरेर समारोह गर्ने गरिएको थियो । यस बर्ष त्यसो नगरी घरमै बसेर पर्व मनाउन प्रशासनले आह्वान गरेको छ ।

सूर्यदेवको आराधना, उपासना र पूजा गरी सप्तमीसम्म पर्व मनाइन्छ । चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसिन्छ । यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ ।

राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरी लगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ ।