कात्तिक २८, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे बस्न लागेको हो।
गत शनिबार सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले दुई पाने लिखित पत्र बुझाएर प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई बैठकका लागि दबाब दिएका थिए। ओलीले भने बैठक बस्न चासो नदिएपछि बहुमत पक्षले औपचारिक बैठक नै बोलाउने तयारी गरेको थियो। त्यसपछि ओलीले महासचिव विष्णु पौडेललाई बैठकको तयारी गर्न निर्देशन दिएका थिए।
सचिवालय बैठकअघि प्रचण्डसहित बहुमत सचिवालय सदस्यले बिहीबार खुमलटारमा भेला गरी रणनीति बनाएका थिए। बैठकले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुतिपछि थप रणनीति बनाउने निर्णय गरेको थियो। आज बस्ने बैठकको एजेण्डा भने तय भएको छैन।