यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइदैं

कात्तिक २८, काठमाडौं  – कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनु पर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।