एनआईसी एशिया बैंकले डाक्यो वार्षिक साधारणसभा, भर्चुअल मार्फत सहभागी हुन सकिने

कात्तिक २७,काठमाडौं  – एनआईसी एशिया बैंकले आगामी मंसीर २१ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकको २३ औं वार्षिक साधारण सभामा आ.व. २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित बिषय सुचिमा छलफल हुने बताएको छ ।

सभाले प्रस्तावित २० प्रतिशत लाभांश पारित गर्ने छ । बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनीहरूलाई Meeting id  तथा Password उपलब्ध गराउने व्यवस्था मिलाइएको बताएको छ । उपस्थित शेयरधनी हरूले साधारण सभामा आफ्नो मन्तव्य राख्ने व्यवस्था समेत बैकले मिलाएको छ ।