सिन्धुपाल्चोकको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रलाई दृष्टिगत गरी निर्माण शुरु गरिएको बाह्रविसे भैरवकुण्ड सडकको काममा ढिलाइ भएको छ ।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी नेपाल आदर्श निर्माण कम्पनी प्रालिले ठेक्का पाएको उक्त सडक ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयभित्र सम्पन्न हुन नसकी ढिलाइ हुन पुगेको हो । बाह्रविसेको राम्चे – मानेश्वरा – घुम्थाङ हुँदै लिस्तीको भैरवकुण्ड पुग्ने उक्त सडक स्थानीय पूर्वाधार विभागको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) कार्यक्रम अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को ऋण २८ करोडमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१८ मा ठेक्का सम्झौता भएको थियो । प्रथम चरण अन्तर्गत बाह्रविसे नगरपालिका–९ राम्चे स्थिति बाह्रबिसे बजार देखि वडा नं. ८ मानेश्वाँरा हुँदै वडा नं. ७ को घुम्थाङ स्थित कोलबारी डाँडासम्म १२ किलोमिटर सडक निर्माण गर्ने ठेकेदार कम्पनीले म्याद गुज्री सक्दा पनि हालसम्म १० किलोमिटरको मात्र ट्रयाक खोलेको छ । कालोपत्रे सहितको उक्त सडक नाली समेत ६ दशमलव २५ मिटर चौडाइको हुनेछ ।
बाढी पहिरोका कारण काम गर्न समस्या भएकोले अबको सात आठ महिनाभित्र सम्पन्न गर्ने गरी म्याद थप भएको कम्पनीका इञ्जिनियर मिलन केसीले बताए । गएको असार २४ गते राती बाह्रविसेको जम्बु र खागदलमा आएको बाढीले केही सडकलाई क्षति पुरयाएपनि सम्झौता भएलगत्तै काम शुरु गरिएको भए तत्कालिन अवस्थामा त्यस क्षेत्रमा कहीँकतै बाढी पहिरो नगएकोले ठेकेदार कम्पनीको बहाना मात्र भएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । सडक निर्माण गर्ने ठाउँ ठाउँमा ठाडो खोल्साहरु भएको हुँदा पुल पुलेसा राख्न योजनामा उल्लेख नभएकोले त्यतिकै छाडीने र अन्य कामको थपघट गर्न भेरियसन आदेशको (अर्डर) लागि प्रकृया शुरु भइरहेको इञ्जिनियर केसीले बताए ।
भोटेकोशी गाउँपालिका – १ लिस्ती स्थित भैरवकुण्ड पुग्न पालिकाले चार वर्षअघिनै डाकलाङ देखि चोकरमोकरसम्मको ४५ किलोमिटर सडक निर्माण गरिसकेको छ । अहिले यातायात समेत सञ्चालन हुँदै आएको छ । निर्माण भइरहेको बाह्रविसे–भैरवकुण्ड सडकले दुईवटा पालिकालाई समेट्छ भने त्यसलाई विस्तार गरिएमा घुम्थाङ देखि लिस्तीको घिप्चे हुँदै छगाम बगाम जोड्न करिब २५ किलोमिटर पर्ने हुँदा पालिकाले बनाएको सडकमा जोडीन पुग्दछ । यसबाट दूरी कम हुनाका साथै आर्थिक भार समेत कम हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शासनकालमा जिल्लामा स्थापित चारवटा ‘कोत’ मध्येमा पर्ने लिस्तीकोत चीनसँग सीमा जोडिएकोले सामरिक महत्वको ऐतिहासिक स्थान हो । शुरुमा कोत पूजा गरिँदै आएपनि धेरै अगाडिदेखि बन्द भएको छ । कोतलाई अपभ्रंश हुँदै कोट हुन पुगेकोले लिस्तीकोट हुँदै हाल लिस्ती मात्र भनिँदै आएको छ । छुट्टै गाविसमा रहेको लिस्तीलाइ सङ्घीयता लागु भएपछि भोटेकोसी गाउँपालिकामा गाभीएको छ ।
समुद्री सतहबाट चारहजार २५० मिटरको उचाइमा पर्ने भैरवकुण्ड, पाँचपोखरीको उचाइ भन्दा बढी छ । बाह्रबिसेबाट भोटेकोशी वारी हुँदै यातायात सेवाको सुविधा पुग्न सके बाह्य र आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्न सक्नेमा स्थानीयहरु आशावादी देखिन्छन् । हाल भैरवकुण्डमा भोटेकोशी गाउँपालिकाको पहलमा संस्कृति तथा पर्यटन मन्त्रालय मार्फत विभिन्न संरचना निर्माण गर्न ठूलो बजेट लगानी गर्ने पालिकाले जानकारी दिएको छ । रासस