कात्तिक २७, काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी–सदस्यबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करीब पाँच घण्टा लामो छलफल भएको छ ।
पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिव समेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए । ‘पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ भन्ने लगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ,’ श्रेष्ठले भने, ‘उपत्यकामा पछिल्लो समय बढी रहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल बढी केन्द्रित भयो ।’
उनले तिहार, छठ लगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको जानकारी दिए । ‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी टेष्टको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ ।’ त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्ने विषयमा प्रभावकारी छलफल भएको उनले जानकारी दिए ।