कात्तिक २०, काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरिन् ।
संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।
समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए । प्रधान सेनापति थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलका साथ भारतीय सेनाध्यक्ष नरवणे बुधवार यहाँ आएका थिए ।
कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा दुई देशबीच उत्पन्न असहज परिस्थितिको सुधारका लागि उनको भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ । नेपाली सेनाले उनको भ्रमणलाई दुवै सेनाबीचको परम्परागत सम्बन्धको निरन्तरताका रुपमा लिइएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नेछन् । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सेनाध्यक्ष नरवणे शुक्रबार नै स्वदेश फर्केने छन् ।