आठ किलो अफिमसहित पर्साबाट एक पक्राउ

असोज २१, पर्सा – पर्सा प्रहरीले आठ किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले मंगलबार राति पर्सा कालिमाई गाउँपालिका १ का २९ वर्षीय खोवारी प्रसादलाई पक्राउ गरेको हो। उनले अफिम भारत लैजान खोजेका थिए।

प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार सो अफिम मकवानपुरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

मकवानपुरबाट पर्सा, बारा हुँदै गाँजा र अफिम भारततर्फ तस्करी अत्यधिक हुँदै आएको छ।

इलाका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेको ३ दिनमा नै प्रहरी निरिक्षक दीपक थापाले आठ किलो अफिमसहित एक जनालाई पक्राउ गरेका हुन्।