असोज १७, काठमाडौं – सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो ।
कालोपत्रेको काम सम्पन्न गरी उडानको तयारीमा रहेका विमानस्थलको पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । यात्रु अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका तीन जिल्लाका तीनवटा विमानस्थलमा आज उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिए ।
बैतडीको पाटनको उद्घाटनपछि बझाङको चैनपुर र दिउँसो डोटीको दिपायल विमानस्थल उद्घाटन हुने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले जानकारी दिए । कैलालीको धनगढी विमानस्थलबाट साना जहाजले पहाडी जिल्लामा नियमित उडान गर्ने गरी तयारी भइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।