४२ लाख रुपैयाँ मूल्य बराबरको सुनसहित २ जना पक्राउ

असोज १६, कपिलवस्तु- कपिलवस्तुको मायादेवी गाउँपालिका ७ बनकसियाबाट ४२ लाख मूल्य बराबरको आधा किलो सुन प्रहरीले बरामद गरेको छ ।

नेपालबाट भारततर्फ सुन तस्करी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो सुन बरामद गरेको हो ।

सुनसँगै प्रहरीले मायादेवी गाउँपालिका ४ बस्ने ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया बालिकालाई पक्राउ गरेको छ ।

लु ५६ प ६३१० नम्वरको मोटरसाइकल खानतलासी गर्दा गुप्ताले कम्मरमा बाधेको निलो रङको थैलीभित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

उक्त सुन र निजको साथ रहेको नगद आठ हजार रुपैयाँ र मोटरसाइकलसहित गुप्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।