असोज १४, कपिलवस्तु – कपिलवस्तु प्रहरीले साढे सात केजी अफिम सहित एक महिला र एक पुरुष अटोचालकलाई पक्राउ गरेको छ ।
जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका–१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीले बरामद गरेको अफिम भारत पुर्याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य रु एक करोड बढी पर्ने बताइन्छ ।
पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उपरीक्षक अधिकारीले जानकारी दिए ।