कमजोर बन्दै मनसुन : पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना

असोज १४, काठमाडौ- अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको छ ।

यो वर्ष पनि दुई दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने महाशाखाका मौसमविद्ले बताएका छन् । मनसुन सकिएपछि बिस्तारै पश्चिमी वायु सक्रिय हुन्छ ।
पश्चिमी वायुले चिसो ल्याउने भएकाले मनसुन सकिएपछि बिस्तारै चिसो बढ्न थाल्ने मौसमविद् निराजन सापकोटाले बताए ।
अहिले बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशको मौसम सामान्य बदली भई थोरै ठाउँमा हल्का पानी पर्ने र अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने उनले जानकारी दिए ।