होटल साहुले कुट्दा ग्राहकको मृत्यु

असोज १३, विराटनगर – होटल सञ्चालकको कुटपिट गर्दा मोरङ उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङले कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार राति तामाङले कुटपिट गर्दा बेहोस भएका ३५ वर्षीय सुशील मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा राति श्रीमतीसँगको विवाद गरेपछि तामाङ छुट्याउन गएको देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘तामाङसँग धकेला धकेल हुँदा मल्लिक लडेर बेहोस भएको देखिन्छ ।’

घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको प्रहरी उपरीक्षक खड्काले बताए ।