असोज १२, बाँके- नन्दकली विक सुकुम्बासी बस्तीममा बस्छिन् । उनको परिवार त्यहाँ बस्न थालेको १२ वर्ष भयो । दाङबाट बाँकेमा आएका उनीहरु ज्याला मजदुरी पर्छन् । उनको चार जनाको परिवार छ । उनका श्रीमान पनि मजदुरी गर्छन् ।
भाद्र ५ गते तीजको दिनको कुरा हो, कोरोना कहर भएपनि नन्दकली साथीसँग घरमै तीज मनाउने सोचमा थिइन् । सबैले अघिल्लो दिनदेखि नै तयारी गरिरहेका थिए ।
नन्दकलीले पनि सरसापट गरेर पाँच सय रुपैयाँमा सारी किनेकी थिइन् । नयाँ सारी लगाउँला, साथीसँग रमाउला र नाचगान गरौला भन्ने उनको सोच थियो । वर्षौ दिनको भोक, अभाव र गरिबी एक दिनको लागि भएपनि भूलेर रमाइलो गरौला भन्ने उनको सपना विपनामा परिणत हुन सकेन ।
उनी एक्कासी बिरामी परिन । असाध्यै टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने लक्षण देखियो । बिमारका कारण उठ्नै नसक्ने भइन् । श्रीमानले औषधिमुलो गरे । एक त कोरोनाका कारण तीजको चहलपहल खास्सै थिएन । वर्षमा एकपटक आउने तीज खल्लो भयो नन्दकलीलाई ।
आज सन्चो होला, भोली सन्चो होला भन्ने आशा गरेकी उनलाई सन्चो हुने संकेत नै हुदँैन । उपचार गरौँ, मेडिकल गएर सिटामोल समेत किन्ने पैसा छैन । गम्भीर खालको बिमार नभएपनि पूर्णरुपमा सन्चो समेत थिएन । त्यसरी नै महिना बित्यो ।
‘लकडाउनपछि कामविहीन भइयो । साँझ विहान खान लाउन समस्या थियो। पैसा नभएकोले उपचार गर्न अस्पताल सम्म पनि जान सकिन।’मलिन स्वरमा उनले भनिन् । उनी निकै अप्ठ्यारो गरी बोलिरहेकी थिइन् ।
१२ वर्षदेखि कोहलपुर–११ स्थित सुकुम्बासी बस्दै आएकी विकलाई कोरोना भन्दा पनि ठूलो विपत्ति आइलाग्यो । श्रीमान–श्रीमती ज्याला मजदुरी गरेर घर चल्थ्यो । कोरोना कहरका कारण ६ महिनायता दुवै जना कामविहीन थिए । श्रीमान–श्रीमतीको उपचारको लागि पैसा खोज्न भौतारिए। तर कसैले पनि पैसा पत्याएनन् । यता नन्दकली अस्पतालको बेडमा रोगसँग संघर्ष गरिरहेकी थिइन् । ‘घरमा छोराछोरी भोकै छन्, श्रीमान पैसा खोज्न भौतारिरहेका छन्, अस्पतालको बेडका औषधिका अर्डर मात्रै आउँछन् । न डाक्टरको केयर छ । न कोही आफ्नो मान्छे छन् । हरेक दिन रुदै कटाए भोकभोकै ।’ उनले अस्पतालका दुःख सुनाइन् । केही दिनमा १५ हजारको बिल आयो । त्यो कृुरा सुन्दा उनको मनमा ७ रेक्टर स्केलको भूकम्प आयो ।
अगाडिको पैसा नआएसम्म थप उपचार नहुने अवस्था भयो । पहिले कै पैसा तिर्न सकेको छैन, कहाँबाट ल्याउने अरु पैसा । मरेपनि घर मर्छु भनेर अस्पतालबाट खोज्दा पैसा नतिरेसम्म जान नमिल्ले बताएको उनले जानकारी दिइन् । नीजि अस्तपतालसँग मानवीयता भेटाइनन् उनले । हुन पनि त्यो व्यपारै हो । व्यापारमा ‘उदारो प्रेमको कैची हो’ पछि गाउँलेहरुले चन्दा उठाए, एक जना आफन्तले सुनको औठी धरौटी राखे। त्यहीबाट आएको पैसा तिर पूर्ण रुपमा सन्चो नहुदै आफू घर आएको उनको भनाइ छ ।
बिहीबार सुकुम्बासी बस्तीमा भेट्दा उनले दुई दिनदेखि पुरा पेट खान नपाएको बताइन् । त्यही बेला याद आयो, सरकारको नारा, ‘कोही भोकै मर्दैन, कोही भोकै बस्दैन’ उनी भोको बसेको यो पहिलो पटक भने होइन । आधा जिन्दगी उनले आधा पेटमा गुजारेकी छन् । आफूसँग सुक्को पैसा छैन । अस्पतालबाट घर आउँदा छिमेकीले दिएको दुई माना चामलले केही दिन चल्यो ।
हुन पनि वर्षौ देखि बेवारिसे रुपमा बस्दै आएका उनी जस्तै सयौ नागरिकको लागि राज्यले केही पनि गरेको देखिदैन । उनी जस्ता भूई मान्छेहरुका अनेकन दुःख दृष्टान्त छन् । एैलानी जग्गामा बस्दै आएका उनीहरुलाई रोग र भोकको मात्रै होइन । वर्षेनी घाम पानीले समेत सताउँने गरेको छ । यस्ता अनेकन दुःख र अभावसँग रोगयुद्ध र भोकयुद्ध लडिरहेकी छिन्, नन्दकली ।