असोज ६, काठमाडौ- कोरोना भाइरस महामारीको समयमा युवाहरुले संस्थागत तथा व्यक्तिगत रुपमा समेत भूमिका निर्वाह गरिरहेका छन् । अधिकांश युवाहरुले समाजमा उल्लेख्य सहयोग गरिरहेका हुन् । यीनै मध्येका एक हुन् । युवा अभियान्ता तथा समाजसेवी अमर विष्ट । जुम्लामा स्थायी घर भएका उनी हाल काठमाडौमा बस्र्दैँ आएका छन् । उनले व्यक्तिगत रुपमा कोरोना महामारीको समयमा पूर्व देखि पश्चिमका जिम्मामा आर्थिक रुपमा विपन्नहरुलाई सहयोग गरिरहेका छन् । केही दिन अघि मात्रै सिन्धुपाल्चोकमा गएको पहिरोका कारण विस्तापित भएका ८० जना परिवालाई सहयोग गरेका छन् । युवा अभियान्ता विष्टसँग महामारीमा युवाहरुको भूमिकाका बारेमा इमेल खवरले गरेको कुराकानी –
कोरोना महामारीका बीच दैनिकी कसरी चलिरहेको छ ?
सिंगो विश्वले यसको सामना गरिरहेको छ । कोरोनाको महामारीमा छौ । हाम्रो देशले समेत यसको सामना गरिरहेको छ । म भने आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै अरुको सेवामा हिडिरहेको छु । कोरोना कहरको बेलामा धेरै जिल्लामा गइयो । विशेषगरी राहत वितरण तथा सहयोगका लागि भर्खरै मात्र सिन्धुपाल्चोक गएर आएको हो । हामीले त्यहाँका ८० घरधुरीलाई राहत वितरण गर्ने काम गरेका थियौ ।
कुन –कुन जिल्लामा सहयोग गर्नुभयो नी अहिले सम्म ?
कोरोना कहरका कारण सरकारले चैत्र ११ गते लकडाउन गर्ने निर्णय गरेपछि सबै क्षेत्र बन्द भए । सबै उद्योग, कलकारखाना र अन्य क्षेत्र समेत बन्द हुन पुगे । दैनिक काम गरी खाने वर्ग समेत काम विहीन भए । विपन्न वर्ग भोकभोकै पर्न थालेका, काम नभएपछि घर फर्किन थालेका समाचार र फोटोहरु आउन थालिसकेका थिए । म लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छु । उनीहरुको गरिबीले निकै छोयो । सहयोगको शुरुवात भने पश्चिम नेपालको महेन्द्रनगरबाट भयो । त्यस पछि बाँकेका गन्धर्व समुदाय तथा बादी समुदायका नागरिकलाई खाद्यन्न सहयोग गरे । त्यसपछि जुम्लाका दलित, अपांगता भएका व्यक्ति र दृष्टिविहीन परिवारलाई समेत सहयोग गरियो । यस्तै सुर्खेतका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री वितरण गर्ने काम भयो । पछिल्लो समय भने सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग गरेका हौ । अहिले सम्म भन्नु पर्दा मैले व्यक्तिगत मात्रै १६ लाख बढि सहयोग गरेको छु ।
देशको ग्रामीण क्षेत्रका नागरिकको अवस्था कस्ता पाउनु भयो, यात्राको क्रममा ?
मलाई दुःख लागेर आउँछ, त्यहाँको अवस्था देखेर । जहाँ जाँदा पनि पार्टीगत कुरा आउँछन् । म राहतको लागि जहाँ जहाँ पुगे, त्यहाँ मैले सहयोग गर्नु पर्छ भन्ने भावना नै देखिन । यस्तो कुराले मलाई साह्रै दुःख लागेको छ । हामी कहाँ छौ भन्ने कुराले मलाई पोल्छ । कुन पार्टीबाट आएको हो भन्ने सोधिन्छ, सहयोग लिएर जाँदा पनि । यो समय पार्टीको झोला बोकेर कसैको वकालत गर्ने चुनावको समय होइन । यो त महामारीको समय हो । यो सहयोग र सहायता गर्ने समयमा हो । पार्टीका गीत गाउने समय होइन । मानवता देखाउने समयमा हामी विचारका नारा लगाइरहेका छौ । यो बिलकुल गलत हो । स्थानीय तहले समेत राम्रो सँग काम गर्न नसकेको मैले पाए । धेरै ठाउँमा जनताले संघीयता आएको अनुभूति गर्न पाएका छैनन् । राहत वितरणमा समेत राजनीतिकरण समेत देखिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
महामारीको बेलामा र ग्रामिण क्षेत्रमा सरकारको ध्यान पुगेको देख्नु भयो की देख्नु भएन ?
अहिले कोरोना कहर छ । तीनै तहका सरकार रोकथाम तथा नियन्त्रणको अभियानमा सक्रियरुपमा लागि परेका छन् । उनीहरुको सहभागिता अनिवार्य भएपनि अर्थपूर्ण सहभागिताको अनुभूति मैले गर्न पाएको छैन । झन ग्रामीण क्षेत्रका जनताका दुःख सुन्ने कोही पनि छैन । हामी राहत वितरण गर्न जादाँ दशै आएको जस्तो मान्छन् उनीहरु । दशै तिहार जस्तो भएका छन् हाम्रा सरकार । हामी सचेत युवाहरुको अधिकारको कुरा मात्रै गर्छौ , कर्तव्य हामीले अहिले सम्म निभाउन सकेका छैनौ । युवाहरुको समेत गम्भीरता मैले देखिन । पार्टी भनेपछि सबै थोक त्याग्न तयार हुने युवाहरु जनताको सहयोगको लागि तत्पर हुनुपर्छ । स्थानीय सरकारमा करोडौ बजेट छ । तर जनताले सेवा पाएको मैले देखिन । जनताका गुनासा अझै सम्बोधन हुन सकेका छैनन् । कोरोनाको बेला सरकारले राम्रो काम गर्न नसकेको कुरा आइरहेको छ । गाउँमा पुग्दा त्यो सत्य हो जस्तो लाग्छ ।
राहात वितरण गर्दा के कस्ता समस्या भोग्नु भएको छ ?
दुखमा साथ दिन पनि त्यति सजिलो छैन । स्थानीय तहमा पुगे पछि कतै पुलिस प्रसासन लगाएर दुख दिने काम हुन्छ भने कतै स्थानीयवासीवाट समेत समस्या भोग्नु परेको छ । सुर्खेतमा राहात दिन जादा त हामी लखेटिएका छौ । सिन्धुपाल्चोकमा राहता दिन जादा पुलिसवाट समेत वाधा गरियो । राहात दिन जादा पनि को वाट आए भन्ने कुरा हुदा असजिलो भयो ।
महामारीमा युवाहरुको भूमिका कस्तो हुनुपर्ला ?
युवा भनेको एक प्रकारको शक्ति हो । युवा देशको मेरुदण्ड समेत हो । यस्तो बेलामा झन महत्वपूर्ण योगदान रहन्छ युवाहरुको । यस्तो बेलामा झन स्वयमसेवामा सक्रिय हुनुपर्छ । सबै युवाहरुलाई मेरो आग्रह छ, यतिबेला त र म भनेर अघि नबढौ । सबैजना म होइन हामी भनेर अघि बढौ हाम्रो देशमा विभिन्न समयमा यस्तो विपत्ति आउने गरेको छ । सहयोग गरेको पनि देखिएको छ । अहिलेको यस्तो अवस्थामा पनि उनीहरुको सहयोग निकै अपरिहार्य छ । त्यसैले हामी सबै युवा एकजुट भएर सहयोग गर्नुको विकल्प छैन । ग्रामीण क्षेत्रमा युवाहरुले समय सुदुपयोग गरेको मैले देखिन । यो तेरो वा मेरो भन्ने समय होइन । एकअर्कालाई गिराउने भन्दा पनि सहयोग गर्न तर्फ लागौ ।