सिन्धुपाल्चोक पहिरो पीडित बस्तीलाई खाद्यान्न र मेडिकल सामग्री सहयोग

भदौ ३०, सिन्धुपाल्चोक-युवा अभियान्ता अमर विष्ट र अधिवक्ता बुद्ध घिसिङको एक टोलीले सिन्धुपाल्चोक पहिरो पीडित बस्तीलाई खाद्यान्न र मेडिकल सामग्री सहयोग गरेको हो ।

भदौ २८ गते राती बाह्रबिसे नगरपालिका वडा नम्बर ७ गुम्थांगमा गएको पहिरोमा परी विस्तापित भएका ८० घरधुरीलाई खाद्यान्न र मेडिकल सामग्री वितरण गरेका हुन् ।

उनीहरुले प्रभावित क्षेत्र मै गएर मंगलबार राहत वितरण गरेका थिए । विष्टले उनीहरुलाई चामल १ सय १० बोरा, दाल १ सय २० केजी, तेल १ सय २० लिटर, नुन ६० केजी वितरण गरिएको बताए ।

उनका अनुसार मेडिकल सामग्री तर्फ सय पीस व्यान्डेज, १५ पीस बेटाटिन, १० वटा डिटोल, जीवनजल १ सय २२ पाकेट, १ पाकेट सिटामोल र व्रोफिन सहयोग गरिएको हो ।

विष्टले प्राकृतिक प्रकोपमा परेका नागरिकलाई व्यक्तिगत सहयोग मार्फत राहत दिइएको इमेल खबरलाई जानकारी दिए ।

युवा अभियान्ता र विष्ट, अधिवक्ता घिसिङ सहित रमेश लामा र ज्योती लामाले समेत सहयोग गरेका थिए । विष्ट र घिसिङले यस अघि बाँकेका कोरोना पीडितलाई समेत सहयोग गरेका थिए । यस वर्ष सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षती भएको छ ।