भदौ ३०, काठमाण्डौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी मुख्यालय धुम्रबराहीमा आज ‘बोगटीको छैटौँ स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले बोगटीको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
कोभिड–१९ का कारणले स्मृति दिवसमा वक्ताका रुपमा कसैलाई नराखिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। अध्यक्ष दाहालले बोगटीको तस्बिरमा माल्यार्पण गरेका थिए। सोही अवसरमा वाग्मती प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।
नेता बोगटी २०७१ साल भदौ ३० गते हृदयाघातका कारणले निधन भएको थियो । एकीकृत माओवादीको हेटौँडामा भएको सातौँ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । उनि सरकारको ऊर्जा, सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको थियो । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन नुवाकोट क्षेत्र नं ३ बाट उनि प्रत्यक्ष तर्फबाट निर्वाचित हुनुभएको थियो । उनि नुवाकोटको साविकको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते जन्मिएका थिए ।