दुर्लभ रेडपाण्डाको छाला सहित बाँकेमा पाँच जना पक्राउ

भदौ २८ , बाँके-बाँकेमा रेडमाण्डाको छाला सहित पाँच जना पक्राउ परेका छन् ।

यहाँको बैजनाथस्थित एक रेष्टुरेन्टबाट बाँके प्रहरीले दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई पक्राउ गरेको हो ।

बाँके प्रहरीले आइतबार पत्रकार सम्मलेन आयोजना गर्दै
बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको जनाएको छ ।

एसपी ओम बहादुर रानाले उक्त कार्यमा संलग्न रहेको भन्दै ५ जना बसेको कोठाको खाट मुनि नग्रा, दात सहितको रेडपाण्डाको छाला फेला पारी बरामत गरि नियन्त्रणमा लिएको बताए ।

पक्राउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण वलि, वडा नम्बर ९ बस्ने २८ वर्षिय इन्द्र बहादुर नेपाली, सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ का ३० वर्षिय जय बहादुर कामि, २५ वर्षिय गणेश विक र वडा नम्बर १२ वस्ने ३६ वर्षका देव बहादुर बाँठा रहेका छन् ।