भदौ २६, एजेन्सी – ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो ।
ट्रिनबागोले अपराजित रहदै उपाधि जितेको हो । यस्तै ट्रिनबागोले तेस्रो पटक सीपीएलको उपाधि जितेको हो ।
ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै डरेन ब्राभोले पनि अविजित रहदै ५८ रनको आर्शशतकीय इनिङ्स खेले ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो ।
सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे ।
यस्तै नाजिबउल्लाह जाड्रनले २४ र रोस्टन चेसले २२ रन बनाए ।
ट्रिनबागोका केइरन पोलार्डले ४ विकेट लिए । अली खान र फावाद अहमेदले २र२ विकेट लिए ।
यस अघि ट्रिनबागोले सेमिफाइनलमा जमैका तलाबाजलाई हराएको थियो ।
सेन्ट लुसियाले गुएना अमेजन वारियर्सलाई हराएको थियो ।