भदौ २३, बाँके-बाँकेमा एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएको बाँके एक महिला र अर्घाखाँचीका पुरुषको मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका एक कोरोना संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रिपर चालक समेत रहेका उनी शितगंगा नगरपालिका वडा नम्बर १२ स्थायी बासिन्दा हुन् । उनी गत साउन २७ गते दुर्घटना परेको पाइएको छ । उनलाई युनिभर्सल मेडिकल कलेज भैरहवा भाद्र ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार नभएपछि भाद्र ११ गते कोहलपुरमा भर्ना गरिएको थियो ।
उपचार कै क्रममा मंगलबार विहान भने उनको मृत्यु भएको हो । यो सँगै बाँकेमा उपचारको क्रममा मृत्यु हुने बाह्य जिल्लाका कोरोना संक्रमितहरुको संख्या तीन पुगेको छ ।
यस अघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार कै क्रममा अछामका १ पुरुष र कैलालीका महिलाको मृत्यु भएको थियो ।
नेपालगञ्जकी महिलामा मृत्युपछि कोरोना पुष्टि
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १६ कि ८० बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।
सोमबार स्वाब संकलन गरिएकोमा मंगलबार मृत्यु भएपछि उनको कोरोना परीक्षणको रिपोर्ट आएको हो ।
ती महिला लामो समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् । भदौ २१ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।
उनको दुबैतिरको फोक्सोमा निमोनिया रहेको स्वास्थ्य कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सँगै बाँकेमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।