भदौ २१, काठमाडौ – सुनसरी जिल्लाको देवानगञ्ज–४ निवासी जयशंकर महतोले आफ्नी छोरीको हत्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाएका छन् । निजकी छोरी रिङकीकुमारी मेहता (महतो) विराटनगरस्थित इडेन बर्क कलेजमा बिबिएस दोस्रो वर्ष अध्ययनरत थिइन् । सोही गाउँपालिका बस्ने रमेशकुमार मेहताले यही भदौ ३ गते अपहरण गरी घरमा लगेर हत्या गरेको आज आयोजित पत्रकार सम्मेलनमा जयशंकरले बताए ।
“मेरी छोरीलाई घरमै हत्या गरी सल घाँटीमा बेरेर झुण्डाई आत्महत्या देखाउन खोजिएको छ । यसले हामीलाई झनै पीडित बनाएको र यस घटनाको अवस्थामा प्रहरी प्रशासनले वास्तविक घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, मृतककी बुबा जयशंकर महतोले माग गरेका छन्। यस्तो जघन्य अपराधको मुद्दा लिन नमान्ने प्रहरी प्रशासनप्रति आक्रोश पोख्दै जनशंकरले आफ्नी छोरीको हत्या भएको निवेदन हुलाकमार्फत पठाउनु पर्दा आफू झनै पीडित भएको र आफ्नी छोरीको हत्या गर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग गरे ।