भदौं १७, काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिए । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही भक्तजनलाई फर्काएको नगरपालिकाले जनाएको छ ।
भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन थियो । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्थ्यो । यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । यहाँ गई बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । मेला रोकिए पनि नित्यरूपमा हुने पूजा आराधना भने जारी रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको इन्द्रदह र कालु पाण्डे समाधिस्थल क्षेत्रलाई सङ्घीय सरकारले दुई वर्षअघि १०० वटा गन्तव्य स्थलमा समावेश गरेको थियो ।