भदौं १५, एजेन्सी – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।
उनको ८४ वर्षको उमेरमा निधन भएको उनका छोरा अभिजितले पुष्टि गरेका छन्।
उनले ट्वीटरमार्फत् बुबाको मृत्यु भएको उल्लेख गरेका छन्। ’डाक्टरहरुले बचाउने प्रयास गर्दा गर्दै मेरा पिता श्री प्रणव मुखर्जी रहनुभएन। यस दुःखद घडीमा हामीप्रति देखाउनुभएको स्नेहका लागि सबैप्रति आभार,’ उनले ट्वीटरमा लेखेका छन्।
स्वास्थ्यमा समस्या आएपछि मुखर्जी केही दिनदेखि नयाँ दिल्लीस्थित आरआर अस्पतालमा उपचार गराइरहेका थिए।
केहि दिन अघि मुखर्जी आफैंले ट्वीट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए ।
मुखर्जी भारतका १३औं राष्ट्रपति चुनिएका थिए। उनको निधनमा भारतीय राष्ट्रपति राम नाथ कोभिन्दले दुःख व्यक्त गरेका छन्।