भदौं ११, काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए ।
उनले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखे । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उनको भनाइ छ । उनले सङ्क्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे ।
प्रवक्ता डा. गौतमले सङ्क्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे । सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ ।