अन्नबाली क्षतिले किसान चिन्तित

भदौ ६, काठमाडौ – बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत पहाडी जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका हुन् । दिनमा बाँदर, रातिको समयमा जङ्गली बँदेल, दुम्सीलगायत जङ्गली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान आतङ्कित भएका छन् ।

जङ्गली जनावर धपाउन रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार ७ चडेपानीका केशव भट्टले बताए । उनले भने, “रातभर जाग्राम बसे पनि जङ्गली जनावरले मकैबालीमा ब्यापक क्षति पु¥याएको छ ।” जङ्गली जनावर धपाउन रातभर मकैबारीमै बस्ने गरेका दोगडाकेदार–३ का स्थानीय प्रकाश चन्दले जानकारी दिनुभयो । जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।

जङ्गली बँदेलले मकैबाली नष्ट गरेपछि भोकमरी हुने चिन्ता बढेको छ । मकैबाली जोगाउनकै लागि बाजागाजा बजाउने गरेको सूर्नया गाउँपालिका–७ का केशव बिसीले बताए । उनले भने, “विभिन्न रोग कीराबाट बचाएर पसाउन लागेको मकैबाली जङ्गली जनावरले नष्ट गर्ने गरेको छ ।”जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । यस्तै दार्चुलाको शैल्यशिखरमा पनि जङ्गली जनावरले आतङ्क मच्चाउन थालेको गङ्गासागर जोशीले बताए ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ सतिगाउँमा पनि जङ्गली बँदेलले मकैबाली सखाप पारेको किसानले बताएका छन् । मकैबाली जोगाउनका लागि रातभर बारीमै पहरा दिने गरिएको भागेश्वरबाट अशोक भट्टले जानकारी दिए । उनले भने, “अन्नबाली र तरकारीमा जङ्गली जनावरले वर्षेनी क्षति पु¥याउँदै आएको भए पनि स्थानीय तहले कुनै पहल गरेको छैन ।”

जङ्गली जनावर नियन्त्रणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानको माग रहेको छ । फौजी कीरा र फेदकटुवा कीराले अन्नबाली नष्ट गरेकोमा बँदेललगायतका जङ्गली जनावरले अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् ।