आयल निगमको भैरहवा डिपोका कर्मचारीमा कोरोना संक्रमण, डिपो ५ दिनसम्म बन्द रहने

 

भदौं १,काठमाडौं – कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपाल आयल निगमको भैरहवा डिपो ५ दिनका लागि बन्द गरिएको छ ।

प्रदेश नं ५ प्रादेशिक कार्यालय भैरहवाका ३ जना, उक्त कार्यालय मातहतका पेट्रोलपम्पका ३ जना र हवाई इन्धन डिपोका ५ जना गरी ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल आयल निगमको भैरहवा डिपो ५ दिन र जिल्लाका पेट्रोल पम्प तथा हवाई इन्धन डिपो १ हप्ताका लागि बन्द गरिएको हो।

डिपो बन्द हुने अवधिभर त्यस क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगंज डिपोबाट पठाइने छ ।

भैरहवा डिपोका ट्यांकर चालक र सहचालकहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्नुपर्ने भएपछि अमलेखगंज डिपोका टयांकरबाटै ढुवानी गरिने निगमले जनाएको छ ।