भक्तपुरको मध्यपुरथिमी आजदेखि १० दिनसम्म लकडाउन

साउन ३२,काठमाडौं – कोरोना संक्रमण फैलिएपछि आज (साउन ३२) देखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा लकडाउन गरिएको छ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित शनिबार साँझ बसेको आकस्मिक बैठकले मध्यपुरथिमी नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो।

नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको हो। बैठकपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए।

नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ।

लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ।

 

thimibiii