साउन ३०, काठमाडौ – नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत् सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी निःशुल्क मिटर वितरण गरेको हो ।
विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ८२५ जनालाई निःशुल्क मिटर वितरण गरेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताए । प्रमुख घिमिरेका अनुसार गत आर्थिक वर्षबाट जिल्लामा विपन्न परिवारका लागि निःशुल्क मिटर वितरण कार्यक्रम शुरु भएको हो ।
स्थानीय तहको सिफारिसको आधारमा विद्युत् विस्तार भइरहेका गाउँपालिका तथा नगरपालिकाका गरिब तथा विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएको कार्यालयले जनाएको छ । निःशुल्क विद्युत्् मिटर पाएपछि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार खुशी भएका छन् ।