साउन ५, काठमाडौ – नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका लागि ठूलो चुनौतीको विषय बन्ने गरेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयाँैको सङ्ख्यामा भेट्न सकिन्छ । झण्डै एक वर्षअघि नेपालगञ्जका छाडाचौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाले त्यसबखत देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो ।
यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरी चौपाया थुन्ने गरेको छ । तथापि बजारमा छाडिने छाडाचौपाया व्यवस्थापनको चुनौतीको अन्त्य भने अझै हुन सकेको छैन ।
नेपालगञ्जको फुलटेक्रामा सानो आकारको कान्जी हाउसमा सबै छाडा चौपाया नअट्ने भएपछि पुरैनीको खाली जग्गामा खुल्लारूपमा छाडा चौपाया थुन्ने गरिएको नगर प्रमुख डा धवलशम्शेर राणाको भनाइ छ तर यति गर्दा पनि आफ्नो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । “हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?”, नगर प्रमुख डा राणाको प्रश्न छ ।
नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ । बर्सात शुरु हुने समयमा रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ । शनिबार मात्रै नेपालगञ्ज बजार क्षेत्रभित्र रहेका ६९ छाडा पशुचौपायालाई कान्जी हाउस पु¥याइएको छ । छाडारूपमा बजारमा घुम्ने, सडकका बीचमा बसेर सडक दुर्घटनाको जोखिम बढाइरहेका पशुचौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगञ्ज नगर प्रहरीको संयुक्त टोलीले कान्जी हाउस पु¥याएको थियो । टोलीले बजारका चारैतिर छरिएर रहेका पशुचौपायालाई जम्मा पारेर धपाउँदै कान्जी हाउस पु¥याएको नगर प्रमुख राणाले बताए ।
केही महिनाअघि उपमहानगरपालिकाले बजार क्षेत्रका भुस्याहा कुकुरको सङ्ख्या अचाक्ली बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर नै सञ्चालन गरेको थियो । शिविरमा करिब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो ।