असार २०, काठमाडौ – सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूर तथा करणीसम्बन्धी कसुरका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० को टोलीले पक्राउ गरेको छ ।
वन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा वन अधिकृत पदमा कार्यरत रहँदा उक्त कसूर गरेको आरोपमा धनगढीका रामनारायण यादवलाई काठमाडौँबाट पक्राउ गरिएको हो । यादवविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूरका साथै करणीसम्बन्धी कसूर गरेको आरोपमा गत जेठ ५ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।
उक्त कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको अवस्थामा यादव रक्तचाप, मधुमेहसमेतको बिरामी भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात थप उपचार गराउनुपर्ने भएकाले छोरा रवीन्द्रको जिम्मा जमानीमा छाडिएकोमा त्यसपछि दुबै जना फरार हुँदै आएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीले गरेको पत्राचारअनुसार खोजतलासको क्रममा काठमाडौँ महानगरपालिका ३५, पेप्सीकोलास्थित टाउन प्लानिङमा लुकीछिपी बसेको अवस्थामा उनलाई शुक्रबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउलगत्तै उनलाई थप कानूनी कारवाहीका लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, कैलाली पठाइएको सिआइवीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।