विभिन्न स्थानमा पहिरो र आगलागी

असार १३, काठमाडौ – मनसुन शुरु भएको दोस्रो हप्ता सकिन लाग्दा पनि विभिन्न क्षेत्रमा विपद्का घटना भइरहेको छ । पछिल्लो चौबिस घण्टामा सुनसरी र रामेछापमा आगलागीका घटना भएको छ भने मकवानपुर, सिन्धुपाल्चोक र म्याग्दीमा पहिरो खसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका वनडाँडा र रामेछापको पाउद्वारमा आगलागी हुँदा झण्डै रु ६ लाख बराबरको क्षति भएको छ ।

यस्तै मकवानपुरको भीमफेदीस्थित जुरिखेत, सिन्धुपाल्चोकको भोटेकोसी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरो खसेको प्राधिकरणले जनाएको छ । विभिन्न नदीहरुमा बहाव बढ्ने र ठाउँठाउँमा पानी पर्ने भएकाले सतर्क हुनसमेत प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।