असार ४, काठमाडौं –निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ।
प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर पठाएको विधेयकलाई भर्खरै राष्ट्रियसभाले पनि सर्वसहमतिले पारित गरेको हो। ५९ सदस्यीय राष्ट्रियसभामा ५७ जना सांसद उपस्थित थिए। उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन्।
सरकारले जेठ ७ गते भारतीय अतिक्रमणमा परेको लिम्पिाधुरा, कुटी, गुञ्जी, नावीसहितका भूमाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा लागू गरेको थियो।
उक्त नक्सालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा विधेयक पेश गरेको थियो। विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो।
जानकारीपछि विधेयक प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष तत्काल पठाउने तयारी गरेका छन्। प्रमाणीकरणपछि औपचारिक रुपमा नेपालमा राष्ट्रियको चिन्हमा रहेको नेपालको नक्सा संशोधन हुनेछ।