असार ४, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपाली भूमिबाट भारतीय सेना फिर्ता जानुपर्ने अडान नेपालको रहेको बताएका छन
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै श्रेष्ठले सीमा समस्यालाई वार्तामार्फत् समाधान गर्नुपर्ने र कुटनीतिक समाधान नै यसको एकमात्र विकल्प रहेको बताए।
भारतले पनि विवादित भूमि हो भनेर स्वीकार गर्दै परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने भनेको र नेपालले पटक–पटक आग्रह गर्दा पनि वार्ता नभएको उल्लेख गर्दै उनले भने, ‘हामी सधैं वार्ताका लागि तयार छौं, तर भारत किन तयार भएन?’
उनले सुगौली सन्धिपछि अर्को कुनै सम्झौता गरेर भारतलाई भूमि नदिइएको भन्दै त्यहाँका जनताले नेपालको चुनावमा मत दिएको, जनगणना गरेको र तिरो तिरेको जस्ता थुप्रै प्रमाण नेपालसँग भएको पनि बताए।
नेपालका पूर्व राजदूत र कुटनीतिज्ञहरुले भारतले गल्ती गरेको भन्दै आएको उल्लेख गर्दै उनले भने, ‘नेपालले वार्ता नचाहेको कुरा कतै–कतै सुनिन थालेको छ, तर हामीले पटक–पटक कूटनीतिक संवाद नै यसको समाधान हो भनिरहँदा पनि किन वार्ता भएन?’