जेठ २८, काठमाडौं – बागलुङ नगरपालिका–४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जान्छन । उनि जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा उनको दिनचर्या बाँदर धपाउँदैमा जान्छ । उनको घरमुनिको बारी र खेतमा गरेर सात रोपनी जग्गामा मकैखेती छ ।
आखाँ झिमिक्क गर्दा साथ सारा मकै नष्ट गर्ने बाँदरको हुल हेर्दाहेर्दै बुढ्यौली लागेका आचार्य मात्र हुनुहुन्न । यस क्षत्रेमा फैलिएको ३०० रोपनी जग्गामा मकैैखेती गर्ने अन्य किसानको दैनिकीसमेत यसरी नै बित्ने गरेको छ । “एकछिन बारीमा नजाने हो भने मकैबाली बाँदरले सखापै पार्छ”, किसान आचार्यले भने, “खेतीपाती गर्ने काम सामान्यजस्तै भयो तर बाँदरबाट खेतीपाती जोगाउनै सकस छ ।”
बाँदर धपाउने क्रममा कतिले भिरबाट लडेर ज्यानै गुमाउनुपर्ने विवशतासमेत स्थानीयवासीको छ । बिहान ५ देखि बेलुका ७ बजेसम्म बागलुङ नगरपालिका–४ कुँडुले, छापा, फेदी तथा दारेगौडाका किसान बाँदर हेर्नुपर्ने बाध्याता छ । समय कहाँबाट कहाँ पुगेपनि हामी किसान भने बाँदर धपाएर दिन फाल्नुपर्ने बाध्यताको अन्त्य आवश्यक रहेको बाँदर धपाउन खेतमा आएका अर्का किसान दिनेश सापकोटा बताउनुहुन्छ । सापकोटाले किसानलाई अनुदान होइन, बाँदर धपाउने उपाय दिन सरोकारवाला निकायसँग आग्रह गरे । “हामीले पटक–पटक नगरपालिकामा बाँदर नियन्त्रणको माग राख्दै आएका छौँ”, सापकोटाले भने, “बाँदर धपाएर जिन्दगी बिताउने किसानको प्रगति कहिले हुन्छ ”
बाँदरले खेतबारीमा फल्दै गरेको मकै मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको किसान रमेश आचार्यको गुनासो छ । खेतीपातीका लागि कुँडुले क्षेत्रको जग्गा निकै उर्वर मानिने भए पनि कालीगण्डकीको छेउ भएकाले बाँदरले सताउने गरेका छन् । बन्दाबन्दीका कारण छोरा नाति फुर्सदिला हुँदा बाँदर धपाउन केही सहज भए पनि अघिपछि खाना खाने पालो पाउनसमेत मुस्किल रहेको कृषक आचार्यले बताए । २० मिनेट मात्रै बाँदर पसेमा सारा खेतीपाटी नष्ट गर्ने भएकाले बाँदर नियन्त्रणको केही उपाय आवश्यक रहेको उनीहरुको भनाइ छ ।
बाँदर नियन्त्रणका लागि नेपालका केही स्थानीय तहले प्रयास गरे पनि खासै प्रभावकारी बन्न सकेको छैन । कुँडुले क्षेत्रमा कलगाडा, राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै ३०० को हाराहारीमा आउने बाँदरले सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । “सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेछ”, किसान सापकोटाले भन्नुभयो, “गहुँमा सामान्य क्षति गर्छ भने धान पाक्ने बेलामा बाँदर नलाग्ने गरेको छ ।” बाँदर धपाउनका लागि खेतबारीको डिलमा किसानले छाप्रो नै बनाएर बस्ने गरेका छन् । कुँडुले क्षेत्रमा मात्र नभई सम्पूर्ण वडाभर नै बाँदरले आक्रान्त पारेको गुनासो भए पनि हालसम्म केही गर्न नसकेको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीले जानकारी दिए । आगामी वर्ष बाँदर छोपेर अन्यत्र लैजाने कार्यक्रम ल्याउन नगरपालिकामा अनुरोध गर्ने उनको भनाइ छ ।रासस