जेठ १६, काठमाडौ – राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा पाँच जना मारिएको घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आज देशभर एकसाथ प्रदर्शन गरेको छ ।
घटनाको विरोधस्वरुप दलित समुदायका पाँच युवा पत्रकारले आज काठमाडौँको माइतीघर मण्डलामा शरीरमा सेतो कपडाले बेरेर मैनबत्ती बालेका थिए । काठमाडौँसहित सङ्घको नेतृत्वमा बुटवल, कपिलवस्तु र सुर्खेतलगायत ६४ जिल्लामा दलित समुदायका पत्रकारले एकसाथ विरोध प्रदर्शन गरेका छन् । शनिबार रुकुमपश्चिम चौरजहारी–८ सोती निवासी मल्ल थरकी एक युवतीसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर युवतीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरेको पीडित परिवारको भनाइ छ ।
मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै युवतीको घरमा गएका अन्य चार जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा एक जना बेपत्ता छन् । प्रदर्शनमा नेपाल पत्रकार महासङ्घका महासविच रमेश विष्टले जातीय भेदभाव तथा छुवाछूतविरुद्धको रुकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानबिन र कारवाहीको माग गर्दै दलितमाथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शून्य सहनशीलता अपनाएर कानून कार्यान्वयन गर्नुपर्ने बताए ।
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, साझा पार्टीका नेता प्रकाशचन्द परियार, पत्रकार ऋषि धमला र सङ्घका उपाध्यक्ष गोपाल बराइलीलगायतले दोषिमाथि कडा कारवाहीको माग गरे । निष्पक्षरूपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभन्नि राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले समेत आवाज उठाउँदै आएका छन् ।