आगामी आर्थिक वर्षको बजेट आज आउँदै

जेठ १५, काठमाडौं –सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ को वार्षिक बजेट आज सङ्घीय संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई यस अघि नै सूचित गरिसकेको छ । दिउँसो ३ः४५ सम्ममा बैठक कक्षमा प्रवेश गरिसक्न पनि सचिवालयले सबैमा आग्रह गरेको छ । सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान भए अनुसार आज बजेट आउन लागेको हो ।

सरकारले यसवर्ष कोरोना भाइरस जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्ने बताइएको छ ।यस्तै रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणलाई मूल प्राथमिकतामा राखेर सरकारले बजेटको तयारी गरेको छ ।