जेठ ८, काठमाडौ- नेपाल आयल निगममा कार्यरत १४६ कर्मचारीको कोरोना परीक्षण गरिएको छ । निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत अपरेटर कर्मचारीको पिसिआर विधिबाट परीक्षण गरिएको निगमले जनाएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिए ।
उनका अनुसार विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थ बोक्ने ट्रकका चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा आएर फ्रन्टलाइनमा कार्यरत कर्मचारीको परीक्षण गरिएको हो । आज काठमाडौँबाट शुरु भएको परीक्षण सातै प्रादेशिक कार्यालयमा छिट्टै सञ्चालन गरिनेछ । कर्मचारीको मनोबल वृद्धि गर्न निगम सञ्चालक समिति सदस्यको समेत परीक्षण गरिएको उनले जानकारी दिए ।
गत वैशाख अन्तिम साता बसेको निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारी सहित) को रु एक लाख बराबरको कोरोना बिमा गरिसकिएको छ ।रासस