गुल्मीमा स्वाब परीक्षण कक्ष स्थापना

वैशाख ४, काठमाडौ – कोभिड– १९ को स्वाब परीक्षण तथा ज्वरो मापन कक्ष यहाँस्थित अस्पतालमा स्थापना गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट उत्पन्न हुनसक्ने जोखिमका कारण चिकित्सकलाई बिरामीको स्वास्थ्य परीक्षण गर्न समस्या उत्पन्न भएको अवस्थामा जिल्ला अस्पतालमा पहिलो पटक आधुनिक स्वाब परीक्षण तथा मापन कक्ष स्थापना गरिएको हो ।

स्वास्थ्यकर्मीले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति हुने गरी धेरैभन्दा धेरै बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्यकर्मी एवं स्थानीय शुभलक्ष्मी क्लिनिकका सञ्चालक होमबहादुर पल्लीको व्यक्तिगत सहयोगमा स्वाब परीक्षण कक्ष निर्माण गरिएको हो ।

जिल्लामा पर्याप्तमात्रामा पिपीई नभएका अवस्थामा सामाजिक दूरी कायम गरी बिरामीको स्वास्थ्य परीक्षण गर्न सजिलो होस् भनेर इन्टरनेटमार्फत दक्षिण कोरियाको नमूना हेरेर अस्पतालका लागि स्वाब परीक्षण कक्ष निर्माणमा सहयोग गरेको स्वास्थ्यकर्मी पल्लीले राससलाई बताए । आल्मुनियम र सिसाको प्रयोग गरी रु ८० हजारको लागतमा निर्माण गरिएको स्वाब परीक्षण तथा मापन कक्ष उहाँले आज अस्पताललाई हस्तान्तरण गरे ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रदेश नं ५ मै पहिलो पटक यस्तो प्रकारको आधुनिक स्वाब परीक्षण कक्ष निर्माण गरिएको बताउनुभयो । डा उत्तम पच्याले पहिलो पटक प्रमुख जिल्ला अधिकारी शर्माको स्वास्थ्य परीक्षण गरी उक्त कक्षको शुरुआत गरेका हुन । नवनिर्मित कक्षबाट बिरामी र स्वास्थ्यकर्मीबीच टेलिफोनमार्फत कुराकानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।