प्रसान्त कुमार वि.क.
काठमाठौ -‘सेल्फ आइसोलेसन’ भनेको आफूलाई नजिकबाट बुझने समय पनि हो । दिनभरी घरमै बसी रहेको बेलामा के गर्ने भन्ने दुविधामा हुनुहुन्छ भने पुस्तक अध्ययन गर्नुहोस । यस्तो बेला पुस्तकहरु अध्ययन गरेर समयको सदुपयोग गर्नु सबै भन्दा राम्रो कुरा हो । पुस्तकले बौद्विक, भावनात्मक र आध्यात्मिक इनगेजमेण्ट दिन्छ । पुस्तकले हाम्रो सोचाईको दायरा पनि फराकिलो बनाउँदछ ।
प्रोफेसर खड्ग के.सी. त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति विभागका संयोजक हुन । विगत लामो समय देखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्दै आएका उनले नागासाकी विश्वविद्यालय, जापानबाट पिएचडि गरेका छन् । चीन, जापान, श्रीलंका लगायतका देशहरुमा ‘गेस्ट प्रोफेसर’ दिने गरेका प्रोफेसर के.सी., जापानको क्यूटो विश्वविद्यालयमा जापान फाउण्डेशन फेलो र अमेरिकाको सिकागो र हार्वड विश्वविद्यालयमा फेलोसिप गरिसकेका छन् । अहिले भने लकडाउन सँगै ‘गेस्ट प्रोफेसर’का रुपमा गर्दै आएको काममा पूर्ण विराम लागेको छ । सधैजसो विद्यार्थीहरुबाट घेरिइरहने प्रोफसर के.सी.को दिनचर्या ‘सेल्फ आइसोलेसन’ सँगै बदलिएको छ । उनी भन्छन, “विहानै उठनु, शारिरीक व्यायम गर्नु, हलुका ब्रेकफास्ट खाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु पढनु दैनिकी जस्तै भएको छ ।” उनको हातमा अहिले विशेषगरी, रोबर्ट कप्लानको ‘रिभेन्ज अफ जियोग्राफि’, अभिजित बर्नजि र एस्तर डुफ्लोको ‘पुअर इकोनमिक्स’ जोन वोल्पटनको ‘जंग बहादुर इन युरोप’ युभाल नोह हरारीको ‘सेपियन्स’ जस्ता समसामयिक पुस्तकहरु छन् । उनले अध्ययन गर्दै गरेका कतिपय पुस्तकहरु पाठकका लागि उपयोगि हुन सक्छन । पुस्तक अध्ययन गर्दा एउटै पुस्तकमा घण्टौ झुण्डीएर नबस्ने तर पुस्तकका महत्वपूर्ण च्याप्टरहरु हेरिसके पछि अर्को पुस्तक पढन शुरु गर्ने फरक बानी छ उनको ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष इतिहास अध्यापन गरेर अवकाश प्राप्त गरेका र नेपाली सञ्चार जगतमा प्रबल रुपमा आफ्ना विचारहरु राख्दै आएका प्रा.डा. सुरेन्द्र के.सी. भने आत्मालाप सम्बन्धि पुस्तक ‘कोरोना र मेरो आत्मलाप’ लेख्दै छन् । कोरोना भाइरसले गर्दा घरमा बन्दि भएको र कोरोना अवधिमा नै लेखिरहेको हुनाले पुस्तकको नाम जुर्न गएको उनको भनाई छ । आत्मलाप लेख्नेक्रममा वि.पि.को ‘आफ्नो कथा’, खडगमान सिंहको ‘जेलमा विस वर्ष’, जहावरलाल नेहरुको ‘डिस्कभरी अफ इन्डिया’, विलक्निटनको ‘माइ लाइफ’, नेल्सन मण्डेलाको ‘लङ्ग वाक टु फ्रिडम’, टेकनाथ रिजालको ‘निर्वासन’ लगायतका डेढ दर्जन जति लिस्टमा रहेका पुस्तकहरु अध्ययन गर्देछन् । यी मध्ये कुनै पनि पुस्तकहरु तपाईको छनौटमा पर्न सक्छ । कुनै पनि जीवनीले तत्कालीन इतिहास, राजनीति, समाज बुझनलाई सहयोग गर्दछ ।
नेपाली साहित्यमा रुचि हुनेहरुले सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’, निलम कार्की निहारीकाको ‘योगमाया’, सरस्वती प्रतिक्षाको ‘नथिया’ अमर न्यौपानेको ‘सेतो धर्ती’, जगत नेपालको ‘पहिलो संसद बीपी–महेन्द्र टकराव’, बुद्विसागरको ‘कर्नाली ब्लुज’, सुधिर शर्माको ‘प्रयोगशाला’, ‘लोकराज बरालको रोमाञ्चित जीवन’ आदि अध्ययन गर्न सक्नु हुन्छ । भर्खर आध्यात्मिक संसारमा बामे सर्दै गरेकाहरुको लागि स्वामी आनन्द अरुणद्वारा लिखित ‘सन्त दर्शन’, ‘अन्तर्यात्रा’ धेरै उपयोगी हुन सक्छ । त्यसबाहेक, जे. कृष्णमूर्तिको ‘फ्रिडम फ्रम द नोन’ दलाई लामाको ‘एन ओपन हार्ट’ गतिला पुस्तकहरु हुन । ओशो त शब्दका जादूगर नै हुन । उनका सबै पुस्तकहरु उल्लेख्य छन् । ओशोका ‘फ्रर्म सेक्स टु सुप्रिम कनससनेश’, ‘जोर्बा द बुद्व’ ‘विज्ञान भैरव तन्त्र’ प्रयोगधर्मी पुस्तकहरु हुन । प्रेरणा दिने तथा सेल्फ हेल्प सम्बन्धि पुस्तकहरुमा सबै भन्दा चर्चित अमेरिकी लेखक डेल कारनेगको ‘हाउ टु वीन फ्रेण्ड्स एण्ड इन्फुलुन्स पिपल’ दीपत्रीभेदीको ‘आइएम द माइन्ड’, स्टेफन आर. कोभेको द ‘सेभेन ह्याविट्स अफ हाइली इफेक्टीभ पिपल’ आदि नाम चलेका पुस्तकहरु हुन् । त्यसैगरी, गीता, रामायण, बाइबल, कुरान, त्रिपीटिक, धम्पद, आदि धार्मिक तथा पौराणीक पुस्तकहरु जीवनलाई मार्गदर्शन गर्नका लागि उपयोगी छन् । तर, यीनीहरुको अध्ययनमा धर्यता र अनुशासनको नितान्त खाँचो पर्दछ । वास्तवमा, पुस्तक जीवनको साथी हो । ज्ञान प्राप्त गर्ने एउटा माध्यम पनि हो । अहिलेको सयममा तपाई कुन पुस्तक अध्ययन गर्दै हुनुहुन्छ भन्ने कुराले तपाईको व्यक्तित्व निर्धारण गर्दछ । यसर्थ, ‘सेल्फ आइसोलेसन’ जीवन परिवर्तन गर्ने एउटा अवशर हो अध्ययनको माध्यमबाट ।