चैत ४, काठमाडौं – वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले रु १० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो ।
रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट रु १० लाख ५३ हजार पैसा लिई उनी फरार भएका थिए । पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाडौँको गँगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ ।