फागुन, ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व गर्ने प्रा.डा. प्रेमराज ज्ञवालीसँगको कुराकानी :
प्रधानमन्त्रीको अहिलेको स्वास्थ्य अवस्था कस्तो छ ?
अहिले उहाँ एकदमै सामान्य भइसक्नुभएको छ । हिँड्डुल गर्न थाल्नुभएको छ ।
कस्तो खानेकुरा दिइरहनुभएको छ ?
अहिले सामान्यतया सबै खानेकुराहरू दिइरहेका छौं । प्रत्यारोपण अगाडि त धेरै खानेकुराहरू बन्देज हुन्छ । पानीहरू नियन्त्रण हुन्छ, प्रोटिन, माछामासु खान मिल्दैन । प्रत्यारोपण गरेर सामान्य भइसकेपछि सामान्य मानिसले जस्तै खाना खानुहुन्छ ।
प्रधानमन्त्रीको दिनचर्या कस्तो छ ?
त्यस्तो दिनको १६—१८ घण्टा काम गर्ने मान्छेले एउटा कोठामा बसेर बेडमा सुतिरहँदा बोरिङ फिलिङ त पक्कै भएको होला । तर, पनि उहाँकै सुरक्षा र स्वास्थ्य सुधारका लागि हामीले अरूसँगको सम्पर्कबाट रोकेका हौं । बाहिरबाट पत्रपत्रिका लैजान हुँदैन किनभने पत्रपत्रिकाबाट पनि इन्फेक्सन हुनसक्छ । हामी त्यहाँ डाक्टरहरू छौं, नर्सहरू छौं । हामीसँग कुरा हुन्छ, गफ गर्छांै, जोक गर्छौं, रमाइलो गरेर बस्छौं । प्रधानमन्त्री मज्जाले रमाउनुहुन्छ ।
पूर्णरूपमा फिट भएर काममा फर्किन कति समय लाग्छ ?
साधारणतया प्रधानमन्त्री आफ्ना अफिस वर्कहरू एक दुई सातामै सुरु गर्न सक्नुहुन्छ । तर, उहाँमा संक्रमणको समस्या आउन सक्ने हुँदा एक डेढ महिनाजति भीडभाडमा जाने काम नगरिदिन उहाँलाई आग्रह गर्छौं । बैठकहरू त फर्केर गएपछि गर्न सक्नुहुन्छ ।
संक्रमणहरू जोखिम कस्तो अवस्थामा देखिन सक्छ ?
अहिले तपार्इं मसँग कुरा गर्दै हुनुहुन्छ, यस्तो अवस्थामा तपार्इंको रोग ममा सर्न सक्छ । मेरो रोग तपाईंलाई सर्न सक्छ । तर, उहाँको सम्भावना अलि बढी हुन्छ किनभने उहाँलाई रोग प्रतिरोधात्मक शक्तिहरू एकदम न्यून गरेर राखेका हुन्छौं, उहाँको शरीरले मिर्गौलाले नफालोस् भनेर । त्यसले गर्दा अरू साधारण व्यक्तिहरूमा भन्दा संक्रमणको सम्भावना उहाँमा अलि बढी हुन्छ ।
प्रधानमन्त्रीको स्वास्थ्यका अबका चुनौतीहरू के हुन् ?
अबको चुनौती भनेकै संक्रमणको हो । संक्रमणबाट मात्रै जोगिने हो, अरू त उहाँ सामान्य हुनुहुन्छ ।
प्रत्यारोपण ३९ मिनेटमा सकियो होइन त ?
होइन । शल्यक्रिया गर्न हामीलाई साढे चार पाँच घण्टा नै लाग्यो । नशाहरू जोड्ने काममा भने ३९ मिनेट लागेको हो ।
त्यो समयलाई कसरी सम्झनुहुन्छ ?
नर्मल टाइम हो । हाम्रो अरू बिरामीको गर्दा ३२ मिनेट, ३५ मिनेट ४५ मिनेटसम्ममा गर्न सक्छौं । जे होस्, जति छिटो त्यसलाई जोड्न सकियो, त्यति राम्रो रिजल्ट हुन्छ ।
झन्डै ५ सय मिर्गौला प्रत्यारोपणमा संलग्न हुनुभयो । अरूभन्दा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा केही फरक पाउनुभयो ?
केही पनि फरक छैन । सबै एउटै हो ।
सबैभन्दा चाँडो मर्गौलाको नशा जोडिएको प्रधानमन्त्रीकै हो ?
उहाँभन्दा अगाडि हामीले एउटा बिरामीको २६ मिनेटमा मिर्गौलाका नसाहरू जोडेका छौं । प्रधानमन्त्रीको दोस्रो पटक भएको हुँदा र शरीरको बनावटले गर्दाखेरि ३९ मिनेट लागेको हो ।
दुई–तीन महिनापछि पनि प्रत्यारोपण गरिएको मिर्गौला रिजेक्सन हुनसक्छ भनिन्छ नि ?
रिजेक्सन भन्ने कुरा लामो समयसम्म पनि हुन सक्छ । रिजेक्सनको तीन भाग हुन्छ । एउटा ‘हाइपरक्युट रिजेक्सन’, जो प्रत्यारोपण गर्दागर्दै टेबलमा नै रिजेक्ट गर्दिन्छ, अनि त्यो मिर्गौलाले काम गर्दैन । शिक्षणमा अहिलेसम्म भएका ७ सय मिर्गौला प्रत्यारोपणमा एउटा पनि त्यस्तो केस देखेका छैनौं । मिर्गौला प्रत्यारोपण गरेको तीन महिनासम्म हुने रिजेक्सनलाई ‘एक्युट रिजेक्सन’ भनिन्छ । प्रत्यारोपण गरिएको मिर्गौला तीन महिनाभित्र पनि फाल्ने डर हुन्छ । तीन महिनापछि पनि फाल्न सक्छ, त्यसलाई ‘क्रोनिक रिजेक्सन’ भनिन्छ । जस्तो प्रधानमन्त्रीज्यूको पहिलो मिर्गौला प्रत्यारोपण भएको १२ वर्षपछि मिर्गौला रिजेक्सन गर्यो नि । उहाँको पहिलो मिर्गौला रिजेक्सन गर्नलाई १२ वर्ष लाग्यो । त्यसकारण यो मिर्गौलाले कति वर्ष काम गर्न सक्छ भनेर हामीले उत्तर दिन नसक्नुको कारण यही हो ।
मिर्गौला रिजेक्सनका केही कारण हुन्छन् ?
साधारण उदाहरणका लागि हाम्रो आँखामा साधारण फोहोरहरू, भुस र धुलोका कणहरू पर्यो भने आँखा चिलाउने, आँसु आउने, आँसुले बगाएर फाल्न खोज्छ, एउटा सानो फोहोरलाई । त्यो त ढिक्का मिर्गौला लगेर राखिएको छ, हाम्रो शरीरले फरेन प्रोटिन भन्छ बाहिरबाट आएको प्रोटिनलाई फाल्नै खोज्छ, जस्तोसुकै भएपनि निकाल्नै खोज्छ । त्यो आफ्नो अंग होइन भनेर रिजेक्ट गर्छ । रिजेक्सन हुने कारण चाहिँ त्यो हो । त्यो रिजेक्सन नहोस् भनेर उहाँको शरीरको जुन तत्वले मिर्गौलालाई पत्ता लगाउँछ । त्यो तत्वलाई हामीले दबाएर राख्नुपर्छ । त्यो भनेको ‘इम्युनो सप्रेसेन्ट’ भन्ने औषधिले दबाउने हो । त्यो औषधिले शक्ति दिन्छ अनि शरीरले थाहा पाउँदैन । यो आफ्नो होइन, अरूको अंग हो भनेर शरीरले पत्ता लगाउँदैन ।
प्रधानमन्त्रीको आत्मबलको बाहिर त धेरैले प्रशंशा गर्छन्, प्रत्यारोपण सर्जनका रूपमा कसरी चर्चा गर्नुहुन्छ ?
एकदमै आत्मबल देखिन्छ, प्रधानमन्त्रीमा । दुई वटा कुरा हुन्छ, हामीलाई कहिलेकाहीँ बिरामीले प्रेसर दिन्छन्– ग्यारेन्टी छ डासा’ब ? पक्का हो ? हुन्छ ? भनेर भन्छन् । उहाँबाट कहिल्यै पनि त्यस्ता शब्दहरू आएन । बरु, ‘डाक्टर साब कन्फिडेन्ट हुनुहुन्छ नि ?’ भनेर सोध्नुहुन्थ्यो । मैले ‘सर कन्फिडेन्ट छौं’ भनेर भनें । त्यतिमात्रै हो । साधारण कुरा प्रेसर गर्ने, मलाई यस्तो गर उस्तो गर, यो चाहियो ऊ चाहियो भन्ने कुरा कहिल्यै भन्नुभएन । साधारण नागरिकले जसरी नै उहाँले व्यवहार गर्नुभयो ।
यो हाइप्रोफाइल प्रत्यारोपण हो । के सन्देश दिएको अनुभव गर्नुभएको छ ?
हुन त हामीले मिर्गौला प्रत्यारोपण गर्न थालेको १२ वर्ष भयो । कतिपय मान्छेलाई त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ भन्ने थाहै थिएन । यो प्रत्यारोपणपछि शिक्षण अस्पताल नै सबैभन्दा पहिले सफल मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल रहेछ भन्ने धेरैलाई थाहा भयो । प्रधानमन्त्रीले पनि छानेको अस्पताल भनेपछि यो अस्पताल पक्कै ठीक छ, यहाँका चिकित्सक सक्षम छन्, गर्न सक्दारहेछन् भन्ने सन्देश जनमानसमा पक्का पनि गएको छ ।
प्रधानमन्त्रीकै मिर्गौला प्रत्यारोपण गर्न पाउनुले तपार्इंको जीवनमा केही अर्थ राख्छ ?
यसले धेरै हौसला दिएको छ । देशको र सरकारको सर्वोच्च व्यक्ति, सरकारले प्रमुखले हामीलाई छानेर आउनु भनेको गर्वको कुरा हो । हामी एकदमै गौरवान्वित छौं । व्यक्तिगत रूपमा म एकदमै खुसी छु । आजभन्दा झन्डै १२ वर्षअघि पहिलो मिर्गौला प्रत्यारोपण गर्दा जति खुसी भएको थिए, त्योभन्दा अझ धेरै बढी खुसी भइरहेको छु । यो टिममा मेरो पूरै डिपार्टमेन्टका सर्जनहरूको सहभागिता थियो । हामी ७ जना थियौं, त्यसमध्ये ५ जना हामीले पढाएका सर्जनहरू थिए । हाम्रै उत्पादन, हाम्रै विभागको उत्पादन, हामीले पढाएको चिकित्सकहरू उहाँहरू अहिले सिनियर चिकित्सक भइसक्नुभयो । उहाँहरूको सहयोगमा हामीले गर्न सक्यौं, त्यो अर्को गौरवको कुरा हो ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणलाई कत्तिको जोखिम ठान्नुभएको थियो ?
प्रधानमन्त्रीको भएर मात्रै होइन, मिर्गौला प्रत्यारोपण नै जोखिमपूर्ण शल्यक्रिया हो । नत्र यो जहाँतहीँ जसले पनि गर्न सक्थ्यो । टिमवर्कले यो सफलता सम्भव भएको हो । अस्पताल, विभाग, विभिन्न जनशक्तिको मिलनले यो सम्भव भएको हो ।
नेपालमा मिर्गौला प्रत्यारोपण आम नागरिकको पहुँचमा पुग्न किन नसकेको होला ?
संसारमा कुनै यस्तो देश छैन, जहाँ मिर्गौला डाइलाइसिस सरकारले नि:शुल्क गराउने होस् । सबैभन्दा विकसित देश होस् या सबैभन्दा गरिब देश, नेपालमात्रै अपवाद हो, जहाँ मिर्गौला डाइलाइसिस नि:शुल्क हुन्छ । मिर्गौला प्रत्यारोण गर्दा सरकारले बिरामीलाई ५—६ लाख रुपैयाँ सहयोग गर्छ । यो सबै प्रधानमन्त्रीज्यूको इच्छा र चाहनाले हुन सकेको हो । मिर्गौला प्रत्यारोपण गर्दा सबैभन्दा पहिले मिर्गौला दिने मान्छे चाहिन्छ । सरकारी नियम र कानुनअनुसार आफ्नो नाता पर्ने मान्छेले मात्रै दिन पाउँछ । सर्वसाधारणलाई त्यो थाहा छैन । अर्को, यो सेवा नेपालको हरेक कुनामा छैन । अहिले नियमित रूपमा मिर्गौला प्रत्यारोपण गर्ने एउटा त्रिवि शिक्षण अस्पताल हो, भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र अर्को वीर अस्पताल हो । प्राइभेट अस्पतालहरूमध्ये ग्राण्डी अस्पतालले गरिरहेको छ । अन्य केही अस्पतालले फाटफुट गरिरहेका छन् । यी सबै अस्पताल काठमाडौंकेन्द्रित छन् । तर, काठमाडौं मात्रै नेपाल होइन । पूर्वदेखि पश्चिमसम्म यही तहका अस्पतालहरू, हरेक प्रदेशमा एउटा एउटा यस्तै अस्पताल बनाउन सकियो र यस्तै किसिमको जनशक्ति पुर्याउन सकियो र यस्तै किसिमको इक्वीपमेन्ट, सामान, औजार पुर्याउन सकियो भने जहाँ पनि सम्भव छ । पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्मको सबै बिरामी काठमाडौं आइसक्ने हालतमा पनि छैनन्, मिर्गौला प्रत्यारोपण गर्दा धेरै लामो समय लाग्छ, खर्च पनि धेरै हुन्छ । सरकारले जति नै सहयोग गरे पनि अझै खर्च पुग्दैन ।
तपाईंको आगामी दिनको कुनै विशेष सपना छ ?
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरौंला भन्ने सपनामा पनि सोचेको थिइन । यसैगरी अचानक केही अर्को सपना आइहाल्छ कि ? तर, अहिले नै त्यस्तो विशेष सपना छैन ।
साभार : कान्तिपूर साप्ताहिक