फागुन ३०, एजेन्सी – विश्वभर समस्याको रुपमा देखिएको कोभिड–१९ कोरोना भाइसरको संक्रमणबाट भारतमा पनि एकजनाले ज्यान गुमाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटक कलबुरागीका एक ७६ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको हो ।
मृत्यु भइसकेका ती व्यक्तिको पहिले लिएको नमुना परीक्षणको रिपोर्टमा कोभिड–१९ पोजेटिभ देखिएको बताइएको छ । खबरअनुसार कर्नाटक सरकारका स्वाथ्य अधिकारी डा. सुरेश शास्त्रीस्ले यसको पुष्टि गरेका हुन्। भारत केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयले पनि यसको पुष्टि गरेको छ ।
भारतीय स्वाथ्य मन्त्रालयका अनुसार मृतक व्यक्ति २९ जनवरी देखि २९ फेब्रुअरी सम्म साउदी अरब घुमेर फर्किएका थिए। २९ फेब्रुअरीमा उनी हैदराबाद हुँदै कर्नाटक पुगेका थिए । ६ मार्चमा उनलाई ज्वरो र खोकी देखिएपछि एक डाक्टर उनको घरमै गइ उपचार गरेका थिए।
रोगले च्यापेपछि ९ मार्चमा उनी कलबुरागीको एक निजी अस्पतालमा गएका थिए । त्यहाँबाट हैदरावाद रिफर गरिएपछि हैदरावादको एक निजी अस्पतालमा भर्ना भइ उपचार गरेका थिए । त्यहाँबाट पनि फर्काएर कालाबुरागीको गुलबर्गा इन्स्टिट्यूट फ मेडिकल साइन्स् अस्पतालमा लैजाने क्रममा मंगलबार उनको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन्।
कर्नाटकमा अन्य ५ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण देखिएको खबर छ। कर्नाटक सरकारले ती व्यक्तिको सम्पर्कमा पुगेका सबैको खोजी गरी परीक्षण गर्ने र सुरक्षा उपाय अपनाउने प्रयास गरिरहेको बताइएको छ।